गणपूरक संख्या नपुगेपछि लेखा समिति बैठक स्थगित

सफल खबर संवाददाता

शुक्रबार, ३० साउन २०८२, १३ : ३७
गणपूरक संख्या नपुगेपछि लेखा समिति बैठक स्थगित

काठमाडौँ । प्रतिनिधि सभाअन्तर्गतको सार्वजनिक लेखा समितिको आजको बैठक गणपूरक संख्या अपुग भएपछि स्थगित भएको छ । समितिका सचिव एकराम गिरीका अनुसार आजको बैठकमा १२ जना सांसद मात्रै उपस्थित थिए । कुल २६ जना सदस्य रहेको उक्त समितिमा गणपूरक संख्या नपुगेपछि अर्को सूचना नभएसम्मका लागि बैठक स्थगित भएको हो । 

प्रतिनिधिसभा नियमावली २०७९ को नियम १८२ अनुसार समितिको गणपूरक संख्या तत्काल कायम रहेको सदस्य संख्याको ५१ प्रतिशत हुने व्यवस्था रहेको छ । आजको बैठकमा ट्रकको भारवहन क्षमता सम्बन्धमा समितिमा परेको उजुरीमाथि छलफल गर्ने कार्यसूची थियो । मालवाहक सवारी साधनको भारबहन क्षमतासम्बन्धी विद्यमान कानूनी प्रावधान कार्यान्वयन तथा नियमन हुन नसकेको भन्दै नेपाल ट्रक यातायात व्यवसायी महासंघले समितिमा उजुरी गरेको थियो । 

मालवाहक सवारी साधनको भारवहनसम्बन्धी निर्देशिका, २०७४ ले निर्धारण गरेको मापदण्डभन्दा विपरीत वजन बोकेर सञ्चालन गर्दा पुल र सडकको अवस्था बिग्रेको तथा दुर्घटनाको जोखिम बढेको भन्दै समितिमा उजुरी परेको हो ।

प्रतिक्रिया दिनुहोस