महिला सांसदको घाँटीबाटै सिक्री तानेर लुटेरा फरार

सफल खबर संवाददाता

सोमबार, १९ साउन २०८२, १३ : ४२
महिला सांसदको घाँटीबाटै सिक्री तानेर लुटेरा फरार

नयाँ दिल्ली । भारतको राजधानी नयाँ दिल्लीको ‘भीआईपी’ एरियामा सोमबार एक महिला सांसदको घाँटीबाटै सुनको सिक्री तानेर लुटेरा फरार भएको छ ।

लोकसभा सांसद आर सुधा सोमबार ‘मर्निङ वाक’मा रहेको समयमा उक्त घटना भएको हो । उनले आफ्नो घाँटीबाट सिक्री तानेर लुटेराले लगेको बताएकी छन् । लुटेरा स्कुटरमा आएको र उसले हेलमेटले अनुहार ढाकेका कारण आफूले चिन्न नसक्ने उनको भनाइ छ ।

प्रतिकारका क्रममा आफूलाई विभिन्न ठाउँमा चोटसमेत लागेको सांसद सुधाले जनाएकी छन् ।घटना लगत्तै उनले गृहमन्त्री अमित शाहलाई पत्र लेखेर जानकारी गराएकी छन् । उनले चाणक्यपुरीजस्तो दिल्लीको सुरक्षित क्षेत्रमा एक महिला सांसदमाथि यसप्रकारको घटना हुन्छ भने महिलाहरू कहाँ सुरक्षित हुन सक्छन् भनेर प्रश्नसमेत गरेकी छन् ।

दिल्ली प्रहरीले यसबारे उजुरी दर्ता गरेर अनुसन्धान थालेको छ । भारतीय सञ्चारमाध्यमले दिल्ली प्रहरीलाई उद्धृत गर्दै जनाए अनुसार प्रहरीको १० वटा टिम परिचालन गरेर अनुसन्धान तथा खोजतलास थालिएको छ ।

प्रतिक्रिया दिनुहोस