काठमाडौं । रूसमा ५०० वर्षपछि पहिलोपटक क्रशेनिनिकोभ ज्वालामुखी विष्फोट भएको अधिकारीहरुले बताएका छन् । चार दिन अघि ८.८ म्याग्निच्युडको भूकम्प गएको स्थान कामचाट्का द्वीपमै ज्वालामुखी पनि देखिएको हो ।
बीबीसीका अनुसार २ अगष्टमा विष्फोट भएको ज्वालामुखीका कारण ६ हजार मिटर उचाइसम्म खरानीको मुस्लो फैलिएको थियो । जसका कारण उक्त क्षेत्रको हवाई मार्ग (एयरस्पेस) बन्द गर्नुपरेको थियो । रुसी अधिकारीहरुका अनुसार यो ज्वालामुखीबाट बस्ती भएको क्षेत्रमा कुनै खतरा छैन ।
कामचाट्काको आपत्कालीन मामिला मन्त्रालयले क्रशेनिनिकोभ ज्वालामुखी ५०० वर्षपछि विष्फोट भएको औपचारिक जानकारी आइतबार दिएको थियो । क्रशेनिनिकोभ ज्वालामुखी यसअघि १५ औं शताब्दीमा विष्फोट भएको बीबीसीले जनाएको छ ।
वैज्ञानिकहरूका अनुसार यो विस्फोट चार दिनअघि रूसको कामचाट्का द्वीपमा गएको ८.८ रेक्टर स्केलको शक्तिशाली भूकम्पसँग सम्बन्धित हुन सक्छ । कामचाट्काको ‘भल्केनिक इरिप्सन रेस्पोन्स टिम’की प्रमुख ओल्गा गिरिनाले यो ज्वालामुखी सोही शक्तिशाली भूकम्पसँग सम्बन्धित हुनसक्ने बताएको बीबीसीले जनाएको छ ।
विश्वको छैटौं शक्तिशाली भनिएको ८.८ म्याग्निच्युडको भूकम्पपछि बलिया परकम्पहरु गइरहेका छन् । आइतबार मात्रै कुरिल द्वीपमा ७ म्याग्निच्युडको धक्का महसुस भएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १९ साउन २०८२, ०९ : ५०
लेखकबाट थप