सत्र बिघा जमिन सात वटा घर, बुढेसकालमा मिलेन परिवारकै भर

सूर्यप्रकाश कँडेल

मंगलबार, ११ मंसिर २०७५, १७ : ३५
सत्र बिघा जमिन सात वटा घर, बुढेसकालमा मिलेन परिवारकै भर

चितवन । धन, सम्पत्ति प्रशस्त भएपछि बुढेसकालमा सुख पाइन्छ भन्ने धेरैले सोचेका हुन्छन्, तर सबैलाई त्यस्तो नहुँदोरहेछ । प्रशस्त सम्पत्ति भएर पनि भरतपुर महानगरपालिका वडा नम्बर एक रामनगर निवासी ८० वर्षीय गोविन्द डंगोलले आफ्नो सम्पत्तिमा आफैले अंश माग्नु परेको छ ।

काठमाडौंमा ६ रोपनी जग्गा र तीन वटा घर, भरतपुर–१ रामनगरमा दुई बिघा जग्गा र तीन वटै घर, धादिङमा तीन बिघा जग्गा र एउटा घर, भरतपुर–१ भतेरीमा १२ बिघा जग्गा भएका डंगोल अहिले रामनगरमा अर्कैको घरमा डेरा गरी बस्छन् । भएको सम्पत्ति श्रीमती र चार भाइ छोरा मिलेर किर्ते गरी आफूलाई सम्पत्तिको हकभोगबाट वञ्चित गराएको डंगालको आरोप छ । आफू अन्यायमा परेको भन्दै उनी अहिले प्रहरीको शरणमा पुगेका छन् । उनले गत आइतबार जिल्ला प्रहरी कार्यालय चितवनमा ‘अन्यायीहरुलाई झिकाई कानून बमोजिम कारबाही गरी पाउँ’ भनी निवेदन दिएका छन् ।

आफूलाई अन्याय गर्ने अरु कोही नभएर श्रीमती र छोराहरु नै भएको डंगोल बताउँछन् । ‘मेरो श्रीमती सावित्री श्रेष्ठ, छोराहरु रोबिन्सन, विद्याभुषण, पिटरसन र जोनसन सगोलमै छौँ, अंशबण्डा भएको छैन’ डंगोल भन्छन्, ‘सगोलमा रहेको मलाई उनीहरुले हेला गरी रामनगरस्थित घरबाट निकालिदिए । दुई महिनादेखि म रामनगरमै डेरामा बस्दै आएको छु ।’ १३ वर्षअघि मुटुको बाइपास शल्यक्रिया गरेको र त्यसपछि भारतको दिल्लीमा मेरुदण्डको शल्यक्रिया गरी पाता राखेकोले नियमित थेरापी गराइरहनु पर्ने अवस्थामा आफूले परिवारबाट हेरचाह नपाएको डंगोलको भनाइ छ ।

भरतपुरमा मंगलबार पत्रकारहरुसँग कुराकानी गर्दै डंगोलले भने, ‘श्रीमती सावित्री छोरा पिटरसनको परिवारसँगै काठमाडौंमा बस्छिन् । रबिन्सनको परिवार धादिङको धार्केमा, विद्याभुषणको परिवार चितवनको जुगेडीमा बस्दै आएका छन् । कान्छो छोरा जोनसनको परिवार अमेरिकामा छ ।’ दुई महिना अघिसम्म रामनगरस्थित घरमा बस्दै आएका डंगोलले श्रीमती लगायत परिवारका सदस्यहरु रामनगर आई आफूलाई जबरजस्ती घरनिकाला गरेको बताए । आफूलाई स्याहारसुसार गर्दै आएकी ४० वर्षीया राजमति कुमालको हेरचाहमा आफू बाँचिरहेको डंगोल बताउँछन् ।

भरतपुर महानगरपालिका वडा नम्बर एकका सदस्य एवं डंगोलका छिमेकी यमबहादुर रानाले डंगोललाई स्याहारसुसार गर्ने राजमतिका श्रीमान् मिनकुमार कुमाल र दुई छोरा भरतपुर २ क्षेत्रपुरमा बस्दै आएको जानकारी दिए । ‘डंगोलमाथि अन्याय नै भएको छ’ वडा सदस्य रानाले भने, ‘बुढेसकालमा बिरामी मान्छेलाई परिवारले नै साथ नदिने, सम्पत्तिबाट वञ्चित गर्ने काम अन्याय नै हो ।’ पत्रकारहरुसँगको भेटमा डंगोलले आफ्नो सबै सम्पत्ति ६ भाग लगाई आफूलाई एक भाग दिनुपर्ने बताए ।

‘निजहरुले किर्ते कागज गरी मलाई सम्पत्तिबाट वञ्चित गराउँदै लगेका छन्’ परिवारजनप्रति आक्रोश व्यक्त गर्दै डंगोलले भने, ‘विगतमा मलाई मासिक एक लाख रुपैयाँ दिने भनी पटकपटक निजहरुले प्रतिवद्धता जनाएपनि हालसम्म एक सुको दिएका छैनन् । करोडौँको सम्पत्ति भएर पनि आज म सुकुम्बासीजस्तो भएको छु ।’ आफ्नो बुढेसकालको फाइदा उठाई परिवारजनले नै आफ्नो नाममा दर्ता रहेको भतेरीस्थित डीजी पोल्ट्री फार्म कम्पनी, त्यसको शेयरहरुमा समेत नक्कली सहीछाप गरी आफूलाई कम्पनीको सञ्चालक समितिबाट निकाला गरेको डंगोलको भनाइ छ ।

जिल्ला प्रहरी कार्यालय चितवनमा डंगोलले दिएको निवेदनमा भनिएको छ, ‘वृद्ध अवस्थामा रहेको मलाई स्याहारसुसार गर्ने विपक्षीहरुको कानुनी र नैतिक दायित्व समेत निर्वाह नगरेकोले निजहरुलाई यस कार्यालयमा झिकाई कानुन बमोजिम कारबाही गरी म बसी आएको रामनगर र भतेरीको घर नै खाली गराई शान्तिपूर्वक बस्ने व्यवस्था, मेरो हक अधिकारको व्यवसाय तथा सम्पत्ति समेत दिन लगाई न्याय दिलाइ पाउँ ।’

बुढेसकालमा बुबाको मति बिग्रियो : विद्याभुषण
भतेरीस्थित डीजी पोल्ट्री फार्म हेर्दै आएका डंगोलका माहिला छोरा विद्याभुषण बुढेसकालमा आफ्नो बुबाको मति बिग्रिएको बताउँछन् । घरपरिवारले हेला गरेको, घरनिकाला गरेको डंगोलको आरोपबारे प्रतिक्रिया लिँदा जुगेडी निवासी विद्याभुषणले भने, ‘हामीले बुबालाई हेला गरेको होइन । एउटी महिलाको लागि उहाँले नै घर छाड्नु भएको हो । हामीले ‘आउनुहोस् बुबा, सँगै घरमा बसौँ’ भन्दा उहाँले ‘मलाई अरुले स्याहार गरेर हुँदैन, राजमति नै चाहिन्छ’ भनेर ती महिलालाई छाड्न सक्नु भएको छैन ।’

परिवारले हेरचाह नगरेको भए नर्भिक अस्पतालमा मुटुको बाइपास सर्जरी कसले ग¥यो ? भनी विद्याभुषणले प्रश्न गरे । उनले भने, ‘बुबालाई दिल्ली पु¥याएर मेरुदण्डको शल्यक्रिया गराई स्टिलको पाता राखिएको छ । थप उपचार र थेरापीका लागि अस्पतालमा राख्नु परेपनि हामी तयार छौँ । खर्च गर्न डराएका पनि होइनौँ, तर बुबाले नै राजमतिबाहेक अरुले स्याहार गर्नै नसक्ने, हेरचाह गर्नै नसक्ने कुरा गर्नुहुन्छ । उसैको लागि बुबाले प्रहरी र पत्रकार गुहार्ने काम गरिरहनु भएको छ । उहाँ तीे महिलालाई छाड्नै सक्नुहुन्न । उनलाई छाडेर आउने हो भने बुबालाई जुन छोराको घरमा बसेपनि स्वागत छ । बुढेसकालमा घर छाडेर बस्दा हाम्रोसमेत बेइज्जत भइरहेको छ ।’

 

प्रतिक्रिया दिनुहोस