मौसम पूर्वानुमानको अनुमानमै सीमित विश्वास : 'प्रविधि छ, भरोसा छैन'

लाखौं खर्च गरेर प्रविधिको जाल, तर मौसम पूर्वानुमान महाशाखाको अनुमान सधैजसो गलत

सफल खबर संवाददाता

शुक्रबार, ०९ साउन २०८२, १० : २६
मौसम पूर्वानुमानको अनुमानमै सीमित विश्वास : 'प्रविधि छ, भरोसा छैन'

काठमाडौं ।  ‘मौसम पूर्वानुमान महाशाखाले भनेको थियो – भारी वर्षा हुन्छ, तर तीन मिनेट पनि पानी परेन ।’ यस्तो गुनासो अहिले सर्वत्र छ । झन्डै एक दशकदेखि अत्याधुनिक प्रविधि, विदेशी विज्ञ र लाखौंको लगानीसहित सञ्चालित जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान किन गम्भीरतासाथ नलिइने हो ? किन अझै पनि अनुमान मिल्दैन ?

त्यसको पछिल्लो उदाहरण हो- साउन ६, ७ र ८ गतेको मौसम पूर्वानुमान । मौसम पूर्वानुमान महाशाखाले मेघगर्जन, चट्याङसहित मध्यमदेखि भारी वर्षा हुने भन्यो । बाढी सतर्कता जारी ग¥यो, २७ जिल्लामा एल्लो अलर्ट । तर झापा, काठमाडौँ, कास्की, धादिङजस्ता ठाँउमा पानीको थोपा पनि परेन । DHM को वेबसाइटमा देखिएको रेनफल वाच म्याप अनुसार २५ जुलाई बिहान ८ः३० बजेसम्म अधिकांश स्थानमा वर्षा शून्य मिलिमीटर ।

तराई-मधेस खडेरीको चपेटामा छ । कोशीमा मात्रै रोपाइँ २१ प्रतिशत घटेको छ । महोत्तरी, बारा जस्ता जिल्लाका किसानहरू साउनको दोस्रो हप्ता आउँदा पनि रोपाइँ गर्न सकेका छैनन् । मधेसका जिल्लाहरुमा खेत फुटेका छन्, सुख्खा बन्दै जाँदा मधेसलाई संकटग्रस्त घोषणा गर्नुपर्ने अवस्था निम्तेको छ ।

नेपालमा जलवायु संकट तीव्र हुँदैछ । त्यस्तै, मौसम सूचना जनताको जीवनसँग प्रत्यक्ष जोडिएको विषय हो । त्यसैले पूर्वानुमान सटीक, भरपर्दो र जवाफदेही हुनु अत्यावश्यक छ । अन्यथा, ‘मौसमको मजाक’ बनिरहन्छ ।

यत्तिका विपद्को जोखिमबीच यदि पूर्वानुमानमै त्रुटि हुने हो भने जनताले कसरी सुरक्षित महसुस गर्लान् ? प्रश्न छ । खासगरी नागरिक र हवाई उड्डयन क्षेत्रलाई मौसम सम्बन्धी जानकारी दिनु मौसम पूर्वानुमान महाशाखाको मुख्य काम हो ।

लाखौं खर्च, प्रविधिको जाल, तर अनुमान गलत !
नेपाल सरकारले एस–ब्यान्ड राडार, वेदर बलुन, वेदर क्यामेरा, न्युमेरिकल वेदर मोडेल, मोबाइल एप, वेबसाइटजस्ता अत्याधुनिक प्रविधिहरू मौसम पूर्वानुमान महाशाखालाई उपलब्ध गराएको छ ।

सुर्खेत, पाल्पा र उदयपुरमा स्थापित एस–ब्यान्ड राडारबाट बादलको अवस्था, गति र संरचना मापन हुन्छ । रेडियोसोन्डेस (वेदर बलुन) दैनिक २५–३० हजार रुपैयाँ खर्चमा हरेक बिहान ५ः४५ बजे उडाइन्छ, ३० किमी माथिसम्म गई वायुमण्डलीय डेटा दिन्छ ।

डब्लूआरएफ ( Weather Research & Forecasting) मोडेल प्रयोग गरेर ३ दिनसम्मको पूर्वानुमान गरिन्छ । तर, यी सबै प्रविधि र जनशक्तिको बाबजुद पनि पूर्वानुमान धेरैजसो असफल हुन्छ ।

पूर्वानुमान किन चुक्छ?
वरिष्ठ मौसमविद् बरुण पौडेलका अनुसार, “मौसम पूर्वानुमान भनेको तापक्रम जस्तो ठ्याक्कै नापिने विषय होइन । धेरै पक्षको विश्लेषणमा आधारित हुन्छ ।” अहिले भने जनस्तरमा बनिसकेको छ- “विभागले अनुमान गर्छ, तर मिल्दैन” भन्ने धारणा ।

उनका अनुसार रियल टाइम डेटा लिएर कम्प्युटरमा मोडलिङ प्रेडिक्सन गरिन्छ । तर कहिलेकाहीँ आकस्मिक जलवायु परिवर्तन, स्थानीय मौसमी घट्ना आदिले अनुमान गलत हुन सक्छ ।

अनुमानको असरः नागरिकदेखि सञ्चारमाध्यमसम्म भ्रममा
काठमाडौँसहित देशभरका समाचारमाध्यमले महाशाखाको वुलेटिनलाई आधार मानेर ‘भारी वर्षाको सम्भावना’ समाचार बनाए, तर परिणाम उल्टो आयो । मौसम पूर्वानुमान विभागले जारी गर्ने बुलेटिनका आधारमा धेरै मानिसहरुले आफनो कार्ययोजना बनाउने, फेर्ने गर्ने गर्छन् । तर यसको असर आम सर्वसाधारणमा परिरहेको हुन्छ ।

हवाइ यात्रा गर्नेले हवाई टिकट फिर्ता गर्ने, विद्यालय  बन्द गरिने, खोल्ने, किसानहरू वर्षाको प्रतीक्षामा रोपाइँ स्थगित गरेर घर फर्किने जस्ता घटना अहिले सामान्य बन्न थालेका छन् । कँही न कँही सर्वसाधारणको दैनान्दिनका काममा पनि विभागको अनुमान फेल खाँदा असर गरिरहेको छ । जसले गर्दा जनताको महाशाखाले लगाउने पूर्वानुमानप्रति नै विश्वास गुमेको छ ।

नेपालको मौसम पूर्वानुमान प्रणाली प्रविधिमा आधुनिक छ, तर जनविश्वासमा कमजोर देखिन थालेको छ । यसको समाधान प्रविधिको ‘अन्धा प्रयोग’ नभई डाटा विश्लेषणमा सुधार, स्थानीयकरणमा ध्यान, र प्रभावकारी संचार हो । अन्यथा, मौसम पूर्वानुमान भनिए पनि त्यो हावामै उड्ने अनुमान बन्ने खतरा रहन्छ । नेपालमा जलवायु संकट तीव्र हुँदैछ । त्यस्तै, मौसम सूचना जनताको जीवनसँग प्रत्यक्ष जोडिएको विषय हो । त्यसैले पूर्वानुमान सटीक, भरपर्दो र जवाफदेही हुनु अत्यावश्यक छ । अन्यथा, ‘मौसमको मजाक’ बनिरहन्छ ।

प्रतिक्रिया दिनुहोस