काठमाडौं । नेकपा एमालेको एक वर्ष अगाडी नै सदस्यता नविकरण गरिसकेकी पूर्वराष्ट्रपति विद्या भण्डारी अबको महाधिवेशनमा अध्यक्षको प्रतिस्पर्धी हुने देखेपछि प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओलीले सदस्यता नविकरण मै रोक लगाईदिए ।
लामो समय देखि ओलीलाई नै साथ दिँदै आएकी भण्डारी अन्तत आफनै प्रतिस्पर्धी देखेपछि ओलीले सदस्यता नविकरणमै रोक लगाईदिएका हुन् । पार्टी सदस्यता नविकरणमै रोक लागेपछि पूर्व राष्टपति भण्डारी अब के गर्छिन् ? भन्ने प्रश्न छ ।
मंगलबार मध्यरात ओलीले होहल्लाका बीच केन्द्रीय कमिटि बैठकबाट भण्डारीको सदस्यता नविकरण रोक लगाउने निर्णय लिए । त्यसलगत्तै मध्यरात नै भण्डारीको सदस्यता नविकरण सूचीबाट हटाउने काम एमालेले गरयो ।
पार्टी सदस्यता रोकिएपछि उनले मदन भण्डारी फाउण्डेसनका नाममा देशब्यापी राजनीतिक अभियान चाल्ने तयारी गरेकी छिन् । त्यसको घोषणा पनि उले आफनो धारणा सार्वजनिक गर्ने दिन नै गर्नेछिन् । त्यसमा उनले आफना सामु रहेका विकल्पहरुका लागि लविङ गर्नेछिन् ।
त्यसलगत्तै भण्डारी हिजै देखि आफु निकटका नेता कार्यकर्तासँगको बाक्लो संवादमा छिन् । उनले केही नेताहरुसँग टेलिफोनमा सम्वाद गरेका छन्, केहीलाइृ आफ्नै निवासमा बोलाएर छलफल गरेका छन् । काठमाडौं बाहिर रहेका नेता कार्यकर्तासँग भने भर्चुअल र टेलिफोन सम्वादमा उनले अवको आफनो कदमका बारेमा पनि सझुाव मागेकी छिन् ।
माझ किराँतकी छोरी, पछि नहट्ने उदघोष गरेकै दिन एमालेले उनको सदस्यता नविकरण नगर्ने निर्णय लिएको थियो । त्यसपछि उनलाई राजनीतिमा आउने बाटो बन्द गराएको ओलीले सोचेका थिए । भण्डारीले ओलीले सदस्यता नै नविकरण रोक लगाउने गरी यो खालको निर्णय लिन्छन् भन्ने भण्डारीले सोचेकी रैनछिन्, तर ओलीले जे निर्णय पार्टी नेता कार्यकर्ताबाट त्रास देखाएर पार्टी बैठकमा होहल्लाका बीच गराए, त्यसबाट भण्डारी ओलीप्रति आक्रोशित देखिएकी छिन् ।
आज र भोलि भण्डारीका केही पहिले नै तय भएका औपचारिक कार्यक्रम छन् । त्यसपछि सम्भवत शनिबार उनले एक औपचारिक कार्यक्रम नै आयोजना गरेर आफनो धारणा सार्वजनिक गर्ने तयारी गरेकी छिन् । उनीसँग बुधबार भेट गरेका उनी पक्षिय नेता विनोद ढकालले पनि तीन दिनभित्र पूर्व राष्ट्रपति भण्डारीले आफनो सदस्यता रोक्ने ओलीको निर्णयका बारेमा आफनो धारणा सार्वजनिक गर्ने बताए ।
“पूर्वराष्ट्रपतिज्यूले तीन दिनभित्र कुनै औपचारिक फोरममार्फत आफ्नो धारणा सार्वजनिक गर्नुहुनेछ, ” बुधबार भण्डारीसँग भेट गरेका ढकालले सफलखबरसँग भने । ओलीको योजनाबद्ध रोकावटपछि उनी विकल्प खोज्दै तीन दिनभित्र धारणा सार्वजनिक गर्ने तयारीमा छिन्।
बुधबार बिहानैदेखि राजनीतिक छलफलमा होमिएकी पूर्वराष्ट्रपतिले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसँग टेलिफोन संवाद गरेकी छन् भने भंगालस्थित निवासमा नेता विनोद ढकालसहित अन्य निकटस्थहरूलाई भेटेकी छन्। एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डे, युवराज ज्ञवाली र स्थायी समिति सदस्य कर्ण थापाले त भण्डारीको सदस्यता नविकरण नगराउने निर्णयमा नोट अफ डिसेन्ट नै लेखेकी छिन् । भण्डारीको पक्षमा खुल्दै आएका वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलले नोट अफ डिसेन्ट नलेखेपनि भण्डारीकै साथमा रहेको भण्डरी निकट नेताहरुको भनाइ छ । निर्णयपछि कर्ण थापाले बोलिरहँदा ओलीले होहल्लाकै बीच बैठक सकियो भन्दै निस्केपछि पोखरेलले बोल्न नपाएको भण्डारी निकट नेताहरु दावी गर्छन् ।
सुरेन्द्र पाण्डे, युवराज ज्ञवाली, कर्ण थापाले क्रमशः निर्णयमा असहमति जनाउँदै बोलिरहेका थिए । कर्ण थापापछि इश्वर पोखरेलले पनि बोल्ने तयारी गरेका थिए । तर बीचमा कर्ण थापा बोलिरहँदा नै ओलीले बैठक स्थगित गरेर हिडेपछि पोखरेलले बोल्न नपाएको बुझाईमा भण्डारी छिन् । तर सञ्चारमाध्यमले पोखरेल मौन बसेको वताईरहेका छन् ।
पार्टी सदस्यता रोकिएपछि उनले मदन भण्डारी फाउण्डेसनका नाममा देशब्यापी राजनीतिक अभियान चाल्ने तयारी गरेकी छिन् । त्यसको घोषणा पनि उले आफनो धारणा सार्वजनिक गर्ने दिन नै गर्नेछिन् । त्यसमा उनले आफना सामु रहेका विकल्पहरुका लागि लविङ गर्नेछिन् ।
भण्डारी निकट नेताहरूका अनुसार, उनी केही विकल्पहरूमाथि गम्भीरतापूर्वक विचार गरिरहेकी छन्। पार्टीभित्रको दबाब र निषेधका बीच उनले आगामी महाधिवेशनसम्म आफ्नो उपस्थिति बलियो बनाउन चाहिरहेकी छन्।
यस्तो छ भण्डारीका सम्भावित विकल्पः
१. विधान महाधिवेशनको तयारी र फरक प्रस्ताव लैजाने रणनीति
भण्डारी आफूपक्षीय नेताहरूलाई परिचालन गरेर केन्द्रीय कमिटीको निर्णयमाथि विधान महाधिवेशनमा प्रश्न उठाउने, र विकल्पका रूपमा नयाँ प्रस्ताव पेस गराउने योजनामा लाग्न सक्नेछिन् । एमालेले भदौं तेस्रो साता विधान महाधिवेशन बोलाएको छ । त्यसका लागि मदन भण्डारी फाउन्डेसनमार्फत उनले तत्कालै अभियान चलाउने तयारी गर्नेछिन् । पार्टीभित्रको मत विभाजनलाई संस्थागत ढंगले सम्बोधन गर्ने यो अपेक्षाकृत ‘इन–हाउस’ रणनीति हो । उनले विधान महाधिवेशनसम्म पुग्दा ओलीको निर्णय उल्टाउन अधिकतम दवाव बढाउने योजना बनाउनेछिन् ।
२. अदालतको बाटोः निर्णयविरुद्ध कानुनी उपचार खोज्ने तयारी
भण्डारीले केन्द्रीय कमिटीको निर्णयलाई ‘असंवैधानिक र पार्टी विधानविपरीत’ ठहर गर्दै सर्वोच्च अदालतमा रिट दायर गर्ने विकल्प पनि विचार गरिरहेकी छन् । यसले न केवल पार्टीभित्रको लडाइँलाई सार्वजनिक बनाउँछ, बरु ओली नेतृत्वमाथि नै कानुनी–नैतिक प्रश्न खडा गर्नेछ । पूर्व राष्ट्रपतिलाई राजनीतिमा आउन संविधानले बन्देज गरेको छैन । कुनै पनि नागरिकलाई राजनीतिमा लाग्न र राजनीतिक दल खोल्न संविधानले प्रतिवन्ध गरेको छैन । ओलीले आफ्नो प्रतिस्पर्धी देखेपछि भण्डारीलाई रोकेको प्रष्ट बुझाईमा अहिले एमाले पंक्ति छ । जसकाकारण भण्डारी कानुनी प्रश्न उठाएर अदालतमा उपचार खोजन जान पनि सक्छिन् ।
३. नयाँ नेतृत्वको टिम खडा गर्दै भित्री रूपमा शक्ति निर्माण
विधान महाधिवेशन वा अदालतबाट कानुनी उपचारमा जाने विकल्प सफल नभए ओली आगामी पार्टीको महाधिवेशनमा भण्डारी आफै अग्रपंक्तिमा नआइकन पनि आफू निकटका नेताको नेतृत्वमा टिम खडा गर्ने र त्यसलाई महाधिवेशनसम्म देशभर सक्रिय बनाएर ओलीको हैकमलाई चुनौती दिने योजनामा लाग्न सक्छिन् ।
यस रणनीतिअन्तर्गत उनी ‘शक्ति केन्द्र’ का रूपमा राजनीतिक अभियानको सूत्रधार बन्न सक्छिन् ।
४. लामो दौडको तयारीः महाधिवेशनबाट नेतृत्व फेर्ने दीर्घ रणनीति
अहिले खुला प्रतिस्पर्धामा नगइ, संगठन र जनमत निर्माणमा समय खर्चेर आगामी महाधिवेशनमा नेतृत्व हत्याउने दीर्घकालीन योजना पनि उनीसँग छ । यस्तो अवस्थामा अहिलेको निर्णयप्रति असहमति जनाएर पनि पार्टीभित्रै रहेर ‘शक्ति सन्तुलन’ कायम राख्ने रणनीतिमा उनी लाग्न सक्छिन् । त्यसका लागि उनले अहिले आफुलाई साथ दिएका नेताहरु इश्वर पोखरेल लाई अगाडी सार्न सक्छिन् । इश्वर पोखरेल, सरेन्द्र पाण्डे लगायतका नेताहरुसँग छलफल गरेर उनले ओलीका विरुद्ध टिम निर्माण गराउन सक्छिन् । उनले यो विकल्पमा पनि सोचिरहेको उनी निकट नेताहरु बताउँछन् ।
५. नयाँ पार्टी गठनः अलग बाटोबाट सक्रिय राजनीतिमा प्रवेश
यदि एमालेभित्र आफूप्रति ‘संस्थागत निषेध’ कायम रह्यो भने पूर्वराष्ट्रपति भण्डारीले आफ्नै नेतृत्वमा नयाँ पार्टी गठन गर्ने अन्तिम विकल्प पनि खुलेको छ । उनीसँग रहेका पूर्व एमाले, पूर्व माओवादी, नागरिक समाजका केही व्यक्तिहरू मिलाएर वामपन्थी–राष्ट्रवादी धारको नयाँ दलको नेतृत्व लिन सक्ने विकल्प पनि उनीसाग छ । विगतमा एमाले र माओवादी मिलेर नेकपा बनेको र यो ओलीकै हठका कारण टुटेको सन्दर्भमा भण्डारीको नेतृत्वमा फेरि एमालेको भण्डारी पक्षको हिस्सा, माओवादी केन्द्र, एकीकृत समाजवादी लगायतका वाम शक्तिहरुलाई मिलाएर नयाँ पार्टी गठनको गृहकार्य हुनसक्ने अनुमान पनि गरिदैछ । यो विकल्प पनि उनका लागि खुल्ला रहेको छ ।
अभियान सुरु भइसकेको संकेत
बुधबारदेखि नै भण्डारीले ‘म अघि बढिसकेँ, अब राजनीतिक अभियान रोकिँदैन’ भनेर निकटस्थहरूसँग स्पष्ट धारणा राखेकी छन्। बिहीबार र शुक्रबार उनी दुईवटा सार्वजनिक कार्यक्रममा प्रमुख अतिथि बनिरहेकी छन्, जहाँ सम्भवतः उनले आफ्नो सन्देश संकेतस्वरूप राख्नेछिन्। त्यसपछि सम्भवत शनिवार या आइतबार उनले औपचारिक कार्यक्रम नै राखेर पत्रकारहरुसँग उनले आफनो अभियान र विकल्पहरुका बारेमा प्रष्ट धारणा राख्नेछिन् ।
पूर्वराष्ट्रपतिका गतिविधिलाई पछ्याउँदै गर्दा स्पष्ट देखिन्छ - अब उनी निष्क्रिय रहनेवाला छैनन्। एमाले नेतृत्वको कठोर निर्णयले उल्टै उनीभित्रको ‘राजनीतिक ऊर्जा’ पुनर्जागृत गरिदिएको उनीनिकट नेताहरु बताउँछन् । अब उनको अन्तिम धारणा के आउँछ, त्यसले नेपाली राजनीति मात्रै होइन, एमालेको आगामी समीकरणमा ठूलो तरंग ल्याउने निश्चितजस्तै देखिन्छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०८ साउन २०८२, ०९ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमालेले सदस्यता नवीकरण गर्न रोक लगाएपछि विद्या भण्डारीले फर्काइन जवाफ (पूर्णपाठ)
विद्या भण्डारीले भनिन्-‘मलाई कुनै पदको लालसा, महत्वकांक्षा र आशक्ति छैन’
विद्या भण्डारीको दाबी : ‘पार्टी सदस्य भएको ४५ वर्ष भयो, मलाई रोक्न मिल्दैन’
विद्या भण्डारीको पक्षमा खुल्न चाहनेहरूलाई रोक्न केपी ओलीले बनाए यस्तो रणनीति
सदस्यता नवीकरण भइसक्यो, ओलीसँग राष्ट्रिय राजनीतिको कुरा भयो : विद्या भण्डारी
च्यासल पुगिन् विद्या भण्डारी