झापा । राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष डा. महावीर पुनको आत्मकथा ‘महावीर पुनः सम्झना, सपना र अविरल यात्रा’ पुस्तक दुई लाख १८ हजार प्रति बिक्री भएको छ ।
केन्द्रको सहयोगार्थ पुस्तक बिक्रीका लागि विर्तामोड आएका डा. पुनले उक्त जानकारी दिएका हुन् । उनले पुस्तक बिक्रीबाट १२ करोड राष्ट्रिय आविष्कार केन्द्रको खातामा जम्मा भइसकेको बताए । उनको पुस्तकको मूल्य ७५० छ ।
उक्त रकमलाई उनले केन्द्रले सञ्चालन गर्दै आएको वीरगञ्ज औजार कारखाना र आविष्कार गतिविधिमा खर्च गरिने जानकारी दिए । पुस्तक बिक्रीका लागि एक सातादेखि झापामा रहेका उनलाई संस्थागत र व्यक्तिगत रूपमा आमन्त्रण गरेर पुस्तक किन्ने क्रम बढिरहेको छ ।
विर्तामोड नगरपालिकाले सोमबार एक कार्यक्रम आयोजना गरी केन्द्रको सहयोगार्थ ५० हजार मूल्य बराबरको पुस्तक खरिद गरेको छ । नगरउपप्रमुख पवित्रा महतरा प्रसाईंले मुलुकलाई आत्मनिर्भर बनाउन पुनको अभियान प्रशंसनीय भएकाले उनको पुस्तक किनेर सहयोग गर्न पाउँदा गर्व लागेको बताइन् ।
सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत महेन्द्र गिरीले वैज्ञानिक महावीर पुनको देशप्रेम र लगनशीलता अनुकरणीय रहेको चर्चा गर्दै उनको पुस्तक किनेर मुलुकलाई आत्मनिर्भर बनाउन योगदान पुर्याउनुपर्ने बताए ।
विर्तामोड, दमक, बाह्रदशी, विर्तामोड, बुद्धशान्तिलगायतका पालिकामा स्थानीय सामाजिक संस्था र युवाहरूको अगुवाइमा उनको किताब किन्ने अभियान सञ्चालन भइरहेको छ ।
विर्तामोडमा सोमबार आयोजित कार्यक्रममा डा. पुनले सामाजिक सञ्जालमा नेताहरूलाई गाली गरेर मात्र नबस्न युवाहरूलाई आग्रह गरे । ‘देशका लागि आ–आफ्नोतर्फबाट सानो भए पनि योगदान गर्नुपर्छ’, उनको भनाइ थियो, ‘सामाजिक सञ्जालमा नेताहरूलाई गाली गरेर मात्र हुँदैन ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०६ साउन २०८२, ०९ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘दिउँसै रात पार्नेलाई बृहत् जनआन्दोलन गरेर नहटाउने हो भने देश डुब्नेछ’: महावीर पुन