साउनको पहिलो सोमबार: देशभरका शिवालयमा भक्तजनको भीड

सफल खबर संवाददाता

सोमबार, ०५ साउन २०८२, ०७ : ०५
साउनको पहिलो सोमबार: देशभरका शिवालयमा भक्तजनको भीड

काठमाडौँ।  आज साउन महिनाको पहिलो सोमबार, हिन्दु धर्मावलम्बीहरूको लागि विशेष महत्त्व राख्ने दिन। बिहानैदेखि पशुपतिनाथसहित देशभरका प्रमुख शिवालयहरूमा श्रद्धालु भक्तजनहरूको घुइँचो लागेको छ।

भगवान् शिवको विशेष पूजा

श्रावण महिनालाई भगवान् शिवको विशेष महिना मानिन्छ भने सोमबारलाई शिवजीको प्रिय वार। यस दिन श्रद्धालुहरू व्रत बस्दै शिवलिंगमा जल चढाउने, बेलपत्र अर्पण गर्ने, मन्त्र जप गर्ने परम्परा पालना गर्छन्। विशेषतः महिलाहरू हरियो लुगा, चुरा र मेहन्दीसहित शिव पूजामा सहभागी हुने चलन रहेको छ।

शिव पूजाको धार्मिक र ज्योतिषीय महत्त्व

शास्त्रअनुसार साउन महिनामा शिवको आराधनाले पाप नाश, मनोकामना पूर्ति र मानसिक शुद्धि प्राप्त हुने विश्वास गरिन्छ। शिव पुराणमा वर्णित अनुसार यही महिनामा भगवान् शिवले समुद्र मन्थनबाट निस्किएको विष पान गरेर संसारको रक्षा गरेका थिए।

ज्योतिषीय रूपमा पनि साउन विशेष मानिन्छ, किनभने सूर्य कर्कट राशिमा रहने हुँदा चन्द्रमा सशक्त हुन्छ, जसले मानसिक शान्तिमा सहयोग पुर्‍याउँछ। यही कारण सोमबारको व्रतले पार्वतीलाई महादेव प्राप्त भएको धार्मिक कथन पनि छ।

व्रत विधि र पूजाको तरीका

सोमबारको व्रत विभिन्न तरिकाले बस्न सकिन्छ निर्जला, फलाहार या एक छाक मात्र सात्त्विक भोजन। व्रतकर्ताले बिहानै ब्रह्म मुहूर्तमा उठेर स्नान गरी सफा लुगा लगाउने, पञ्चामृत र जलले शिवको अभिषेक गर्ने, मन्त्रजप र आरती गर्ने प्रथा रहिआएको छ। शिव चालिसा, रुद्राष्टक वा सोमबार व्रत कथा पनि पढिन्छ वा सुनिन्छ।

प्रतिक्रिया दिनुहोस