आज साउनको तेस्रो सोमबार, पशुपतिनाथलगायत शिवालयमा भक्तजनको भीड

सफल खबर संवाददाता

सोमबार, १९ साउन २०८२, ०८ : ३९
आज साउनको तेस्रो सोमबार, पशुपतिनाथलगायत शिवालयमा भक्तजनको भीड

काठमाडौं । साउन महिनाको तेस्रो सोमबार आज पशुपतिनाथलगायत देशभरका शिवालयमा बिहानैदेखि भक्तजनको भीड लागेको छ ।

भक्तजनको सहजताका लागि पशुपति क्षेत्र विकास कोषले आज बिहान ३ बजेदेखि नै पशुपतिनाथ मन्दिरका चारवटै ढोका खुला गरेको छ ।

पशुपति क्षेत्रमा अहिले पनि हजारौँ भक्तजन पूजा, आराधना एवं दर्शनका लागि लाममा बसेका छन् ।

साउन महिना र सोमबार भगवान् शिवको प्रिय महिना एवं बार भएकाले शिवालयमा पूजा, आराधना गर्ने वैदिक कालदेखिको परम्परा छ । यस वर्ष साउन महिनामा चारवटा सोमबार परेका छन् ।

साउन महिनाको अर्को आकर्षण बोलबम यात्रा पनि हो । शिवभक्त हिन्दू धर्मावलम्बीहरू पहेँलो पोशाक लगाएर खाली खुट्टा पैदल हिँडेर पशुपतिनाथको दर्शनका लागि पुग्ने गर्दछन् । 

काठमाडौं उपत्यकाका गोकर्णेश्वर, नागेश्वर, डोलेश्वर, वसन्तपुरस्थित सानो पशुपतिनाथ भनेर चिनिने मक्खन महादेवलगायत महादेव मन्दिरमा पनि भक्तजनको भीड लागेको छ ।

प्रतिक्रिया दिनुहोस