कफीको बिरुवा बेचेर साढे १३ लाख कमाई

सफल खबर संवाददाता

आइतबार, २९ असार २०८२, ११ : १३
कफीको बिरुवा बेचेर साढे १३ लाख कमाई

इलाम । माङसेबुङ गाउँपालिका-२ रत्नबस्तीका किसान राजेश राईले कफीको बिरुवा बेचेर मनग्य आम्दानी गर्दै आएका छन् । उनले यस वर्ष मात्र कफीका बिरुवा बिक्रीबाट रु. १३ लाख ५० हजार आम्दानी गरेका छन् ।

पाँच वर्षअघि ‘वाङदेल नर्सरी सेन्टर’ स्थापना गरी कफीका बिरुवा उत्पादन गर्दै आएका राई माङसेबुङकै एक असल बिरुवा उत्पादक किसानका रूपमा परिचित छन् । फेवाखोला नजिकै गजुरमुखी-इभाङ-चतुरे सडकको छेउमा पाँच रोपनी जग्गामा बिरुवा उत्पादन गर्दै आएका छन् । यस वर्ष उनले ४५ हजार कफीका बिरुवा बिक्री गरेका ।

कफीको बिरुवा उत्पादन गर्न थालेपछि नर्सरीमै बिरुवा लिन आउने गरेको उनले बताए । कम समय, श्रम र पैसामा धेरै उत्पादन र आम्दानी गर्न सकिने भएकाले कफीको बिरुवा उत्पादनलाई प्राथमिकतामा राखेको उनको भनाइ छ ।

कफीको बिरुवा इलामकासँगै पूर्वको सङ्खुवासभा र भोजपुर जिल्ला तथा छिमेकी मुलुक भारतको सिक्किमसम्म लैजाने गरेका छन् । बिरुवा विभिन्न पालिका, वडा कार्यालय, फार्म र किसानले खरिद गरी लैजाने गरेको उनको भनाइ छ । 

“बिरुवा उत्पादन गर्न खासै धेरै मेहेनत र समय पनि लाग्दैन”, उनले भने, “यहाँ उत्पादित बिरुवा इलाम तथा बाहिरसमेत जाने गरेको छ ।” कफीको बिरुवा प्रतिगोटा रु. ३० का दरले नर्सरीबाटै बिक्री भएको उनले बताए ।

राईले नर्सरीमा कफी मात्र होइन, अरु वन पैदावार बिरुवासमेत उत्पादन गर्दै आएका छन् । उनको नर्सरीमा लाम्पाते, सिमल, पानीसाज, खमारी, उतिसलगायत वन पैदावार र आँप, लिची, कटहरलगायत फलफूलका बिरुवा पनि उत्पादन हुँदै आएको छ । वन पैदावार र फलफूलको बिरुवा प्रतिगोटा रु. ४० का दरले नर्सरीबाटै बिक्री हुने गरेको उनले बताए ।

“कफीको बिरुवालाई पहिलो प्राथमिकता दिएको छु । अन्य वन पैदावार र फलफूलका बिरुवा पनि छन्”, उनले भने, “एकै ठाउँमा आफूलाई चाहिएको जति बिरुवा पाइने भएपछि ग्राहकलाई पनि सजिलो भएको छ ।” बिरुवा स्याहारसुसार तथा उखेल्ने र बिक्री गर्ने काममा राजेश आफैँ खट्छन् । छोटो समयमा धेरै आम्दानी गर्न सकिने भएकाले बिरुवा उत्पादनमा जोड दिएको उनको भनाइ छ ।

उनको नर्सरी फार्मलाई कोशी प्रदेश सरकारको पनि राम्रै सहयोग मिलेको छ । दुई वर्षअघि कृषि ज्ञान केन्द्र इलाममार्फत नर्सरी प्रवर्द्धनका लागि उनले लागत साझेदारीमा रु. दुई लाख अनुदान पाएका थिए । साझेदारीमा व्यवस्थित टनेल निर्माण गरिएको उनले बताए । कृषि ज्ञान केन्द्र इलामको तथ्यांकानुसार इलाममा एक सय ३५ हेक्टर क्षेत्रमा कफीको व्यावसायिक खेती हुँदै आएको छ ।

 

प्रतिक्रिया दिनुहोस