‘भोजपुर प्रतिभा पुरस्कार’बाट शाक्य पुरस्कृत

रासस

सोमबार, २३ असार २०८२, १२ : ३२
‘भोजपुर प्रतिभा पुरस्कार’बाट शाक्य पुरस्कृत

भोजपुर । प्रत्येक वर्ष एक स्रष्टालाई प्रदान गरिँदै आएको ‘भोजपुर प्रतिभा पुरस्कार’बाट टक्सार निवासी प्रेम शाक्य पुरस्कृत भएका छन् । त्रिवेणी साहित्य प्रतिष्ठान भोजपुरले शाक्यलाई आइतबार एक कार्यक्रमबीच सम्मान तथा पुरस्कृत गरेको हो । 

विसं २०४५ देखि वाद्यवादकका रूपमा अनवरत क्रियाशील शाक्यले विशेषतः नेवारी समुदायमा प्रचलित खीं, धा, धिमे, नाय्खी तथा हारमोनियम, तबला जस्ता वाद्य वादनका प्रशिक्षकका रूपमा नेवारी, कला र संस्कृतिको संरक्षण र संवर्द्धनमा योगदान पुर्‍याएको अवसरमा उनलाई पुरस्कृत गरिएको पुरस्कार कोषका संरक्षक अमृका ताम्राकारले जानकारी दिइन् । 

प्रतिष्ठानका संस्थापक अध्यक्ष श्याम तमोटले शाक्यलाई सम्मान पत्र तथा पुरस्कार राशी बापत रु. २२ हजार २२२ रुपैयाँ प्रदान गरे । पुरस्कृत शाक्यले नेवारी वाद्य वादन बजाउने सीप हस्तान्तरणका लागि स्थानीय स्तरमा नियमित र विभिन्न जिल्लामा प्रशिक्षण समेत दिँदै आएका छन् । 

विसं २०१७ मा जन्मिनु भएका शाक्य भोजपुर नगरपालिका-१२ टक्सारका स्थानीय बासिन्दा छन् । प्रतिष्ठानले भोजपुर प्रतिभा पुरस्कार हरेक वर्ष साहित्य, कला र संगीत क्षेत्रमा योगदान गर्ने व्यक्तित्वलाई प्रदान गर्दै आएको छ ।

 

प्रतिक्रिया दिनुहोस