दोधारा चाँदनी(कञ्चनपुर) । गृहमन्त्री रमेश लेखकले महाकाली नदी किनारका बस्ती जोगाउन ठूलो वर्षा हुनुअघि नै बाँध निमार्ण गर्नेगरी नेपाली सेनालाई जिम्मा दिइएको बताएका छन् ।
आज कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ स्थित महाकाली नदीमा निर्माणाधीन बाँधको अनुगमन गर्दै उनले बाढीका कारण वर्षौदेखि नदी किनारका नागरिकले भोग्दै आएका समस्या समाधानका लागि सरकारले विशेष निर्णय गरेर सेनालाई जिम्मा दिएको बताए ।
मन्त्री लेखकले भने,“महाकाली किनारका बस्ती वर्षौदेखि बाढीको जोखिममा छन् । यसैकारण ती बस्ती जोगाउन गृह मन्त्रालयले सेनासँगको समन्वयमा काम अगाडि बढाएको हो । अब बजेट अभावले बाँध निमार्ण कार्य रोकिँदैन, बस्ती जोगाउन सरकारले चाहिने जति बजेट व्यवस्थापन गर्छ ।”
गत वर्ष महाकालीको बाढीले दुई सय ६० मिटर बाँध भत्काएपछि महाकाली नदी बस्तीतर्फ सोझिएको थियो । यसले भीमदत्त नगरपालिका र दोधारा चाँदनी नगरपालिकाका विभिन्न बस्ती जोखिममा परेपछि सरकारले उक्त क्षेत्रलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेर काम अघि बढाएको हो ।
गृहमन्त्री लेखकले महाकाली नदीका कारण यहाँ बनेको चारलेन पुल र बस्ती नै जोखिममा परेपछि विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको बाँध निर्माणको जिम्मा सेनालाई दिइएको बताए । “सरकारले नदी नियन्त्रण तथा संरक्षणका लागि विशेष प्राथमिकताका साथ बाँध निर्माण गरिरहेको छ । अब स्थायी रूपमा समस्या समाधान हुनेगरी काम हुन्छ”, उनले भने।
गृहमन्त्री लेखकले निर्माण कार्यमा संलग्न टोलीलाई निर्धारित समयमै गुणस्तरीय काम सम्पन्न गर्न निर्देशनसमेत दिए। यहाँ गत जेठ ६ गतेको निर्णयअनुसार सेनालाई एक महिनामा बाँध निर्माण गर्ने गरी जिम्मेवारी दिइएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २२ असार २०८२, १४ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विपद्लगायत मानवीय संकटमा क्षेत्रीय एकता आवश्यक : गृहमन्त्री लेखक
गृहमन्त्री लेखक र सचिव दुवाडीबीच कार्यसम्पादन सम्झौता, नतिजामुखी काम गर्न निर्देशन
गृहमन्त्रीको प्रष्टीकरण : ‘रविलाई सुविधाबाट वञ्चित गरिएको छैन, कारागार सार्ने काम हुँदैछ’
प्रत्येक कारागारमा क्षमताभन्दा ६७ प्रतिशत बढी कैदीबन्दी छन् : गृहमन्त्री लेखक
विदेशमा जन्मिएका सन्तानलाई आमाको स्वघोषणाको आधारमा अङ्गीकृत नागरिकता : गृहमन्त्री लेखक
गृहमन्त्री लेखकले काँग्रेसका दुई महामन्त्रीसँग गरे बेग्लै संवाद