प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठक बालुवाटारमा जारी

विहीबार, २० पुस २०७४, १० : ३१
प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठक बालुवाटारमा  जारी

 काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन सम्पन्न भएपछि प्रधानमन्त्री देउवाले दोस्रोपटक सर्वदलीय बैठक आह्वान गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा राष्ट्रियरूपमा मान्यता प्राप्त पाँच दलका शीर्ष नेताहरूको बैठक बसीरहेको छ ।

बैठक प्रदेश प्रमुख नियुक्त गर्ने, स्थायी राजधानी तोक्ने र राष्ट्रियसभा चुनावको मिति तोक्ने विषयमा केन्द्रित रहेको बताइएको छ ।

सरकारले प्रदेश राजधानीको अस्थायी राजधानी प्रस्ताव गरेर मन्त्रिपरिषदमा बुझाएको छ । यसलाई मन्त्रिपरिषद् बैठकले पारित गर्नुपर्ने हुन्छ । यही विषयमा सुझाव माग्न प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

राष्ट्रियसभा निर्वाचन र नयाँ सरकार गठनका विषयमा समेत छलफल हुने बताइएको छ । निर्वाचन आयोगले माघ २५ मा राष्ट्रियसभा निर्वाचनको मिति प्रस्ताव गरेको छ ।

एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र, संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टीले राष्ट्रिय दलको आकार लिएका छन् । यिनै पार्टीका शीर्ष नेता बैठकमा सहभागी छन् ।

बैठकमा प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवा, रामचन्द्र पाैडेल, विजय गच्छदार, सशांक काेइराला, कृष्ण सिटौला, एमाले नेताहरु सुवास नेम्वाङ, भीम रावल, विष्णु पाैडेल, अग्नि खरेल सहभागी छन् ।

यसैगरी माअाेवादी केन्द्रबाट अध्यक्ष प्रचण्ड, नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा ‘बादल’, संघीय समाजवादी फाेरम नेपालका राजेन्द्र श्रेष्ठ, राजपाका राजेन्द्र महताे,  महेन्द्र रायलगायतका नेताहरु बैठकमा सहभागी छन् ।

प्रतिक्रिया दिनुहोस