एमाले नेता काशीनाथ अधिकारीले लिए सक्रिय राजनीतिबाट विदा

सफल खबर संवाददाता

शुक्रबार, ०४ पुस २०८२, ०७ : २३
एमाले नेता काशीनाथ अधिकारीले लिए सक्रिय राजनीतिबाट विदा

काठमाडौ । नेकपा एमालेका प्रभावशाली नेता काशीनाथ अधिकारीले सक्रिय राजनीतिबाट विदा लिएका छन्। ६६ वर्षको उमेरमा उनले पार्टीका कुनै पनि कमिटी तथा निकायमा नरहने घोषणा गर्दै साधारण सदस्यका रूपमा पार्टी, समाज र देशका हितमा काम गरिरहने बताएका छन्।

शुक्रबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै अधिकारीले करिब ५० वर्ष लामो राजनीतिक जीवनमध्ये ४४ वर्ष पूर्णकालीन रूपमा राजनीतिमा सक्रिय रहेको उल्लेख गरेका छन्। उनले इमान, निष्ठा र समर्पणका साथ तन, मन र धन दिएर निस्वार्थ रूपमा काम गरेको दाबी गरेका छन्।

आफ्नो कार्यशैलीबारे उल्लेख गर्दै अधिकारीले आफू ‘ल्यांगल्यांगे’ कार्यशैलीको विरोधी रहेको र जसरी पनि जिम्मेवारी पूरा गर्ने बानी रहेको बताएका छन्। नेकपा एमालेमा लगातार ३३ वर्ष केन्द्रीय सदस्य भए पनि आफू कहिल्यै नेता बन्ने होडमा नलागेको उल्लेख गर्दै उनले आफू कार्यकर्ताको पात्रता भएको राजनीतिकर्मी भएको बताएका छन्।

'पद र अवसरका लागि कहिल्यै मरिहत्ते गरिनँ,' अधिकारीले भनेका छन्, 'सपना असल कम्युनिष्ट बन्ने थियो, तर सबै मानक पूरा गर्न सकिनँ।'

पार्टीको ११औँ महाधिवेशनमा समेत उनले कुनै पनि पदमा उम्मेदवारी दिएका थिएनन्। यद्यपि, उनी पार्टीभित्र प्रभावशाली नेताका रूपमा चिनिन्थे। अघिल्लो कमिटीमा उनी संगठन विभाग प्रमुखको जिम्मेवारीमा रहेका थिए ।

प्रतिक्रिया दिनुहोस