धरान । सुनसरीको इटहरी उपमहानगरपालिका–२ र ३ मा रहेको तालतलैया अहिले पर्यटकको आकर्षक केन्द्रका रूपमा विस्तार हुँदै गएको छ । करिब २१ दशमलव पाँच हेक्टर क्षेत्रफलमा फैलिएको तालतलैया विशेषगरी वनभोज स्थलका रूपमा लोकप्रिय बनेको हो ।
मुख्य वनभोजको मौसममा दैनिक १२ देखि १५ हजार आन्तरिक तथा बाह्य पर्यटक तालतलैया आउने गरेका तालतलैया व्यवस्थापन समितिका अध्यक्ष गङ्गाबहादुर रायमाझीले जानकारी दिए । उनका अनुसार दिनमा ५०० भन्दाबढी पर्यटक घुमघामका लागि आउने गरेका छन् । वनभोजका लागि यहाँ एकैपटक ७० भन्दाबढी समूहले वनभोज खानसक्ने क्षमता रहेकाले वनभोजमा आउनेले दुई–चार दिन अगाडि बुकिङ गराउनुपर्ने उनले बताए ।
पर्यटकको आकर्षणलाई ध्यानमा राखी तालतलैया परिसरभित्र छ वटा पोखरी निर्माण गरिएको छ । साथै, पर्यटकको थप सुविधाका लागि दुई वटा मोटरबोट सञ्चालनमा ल्याइएको व्यवस्थापन समितिले जनाएको छ । मङ्सिरदेखि माघसम्म पर्यटकको चाप अत्यधिक हुने गरेको अध्यक्ष रायमाझीले बताए ।
उनका अनुसार करिब ४० प्रतिशत पर्यटक भारतका विभिन्न सहर तथा सिरहा, सप्तरी क्षेत्रबाट आउने गरेका छन् । उनले भने, “यहाँ आउने पर्यटकका लागि अर्को आकर्षण चिडियाखाना हो, जहाँ दुम्सी, मयँुर, गिद्ध, चित्तल, हाँस, घोडा, बाँदरलगायत विभिन्न वन्यजन्तु छन्, यिनै अवलोकन गर्न पर्यटकको सङ्ख्या यो समय बढ्दो छ ।”
आर्थिक वर्ष २०८१÷८२ मा सहरी विकास मन्त्रालयबाट विनियोजन भएको रु ८५ लाख बजेटले तालतलैयाभित्र पर्यटकीय संरचना थप निर्माण गरिएको अध्यक्ष रायमाझीले जानकारी दिनुभयो । उक्त बजेटबाट शौचालय, चिडियाखानाका थप संरचना, तथा अन्य पर्यटकमैत्री सुविधा निर्माण गरिएको छ । तालतलैयाभित्र नर्सरी, वाटरफाउन्टेन, बालबालिकाका लागि चिल्ड्रेन पार्क निर्माण गरिएको जनाउँदै उनले स्कुल बिदाका समयमा अभिभावकले बालबालिकालाई खेलाउन ल्याउनेको सङ्ख्या उल्लेख्य रहेको बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १६ मंसिर २०८२, ०७ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पर्यटकले ढोरपाटनका होटल भरिभराउ
दश महिनामा पाँच लाख ७३ हजार बढी पर्यटक मुस्ताङ भित्रिए
सौराहामा पर्यटकको आगमन उत्साहजनक : व्यवसायी
६ महिनामा २६ सय बढी पर्यटकले गरे शुक्लाफाँटा भ्रमण
कञ्चनजंघा क्षेत्रमा पर्यटकको चहलपहल बढ्यो
एक महिनामा ४८ हजार पर्यटक अन्नपूर्ण क्षेत्रमा भित्रिए