सरकारले निजी क्षेत्रमा तोडफोड गर्नु हुँदैन भन्ने सन्देश दिनु पर्छ: चन्द्र ढकाल

सफल खबर संवाददाता

विहीबार, ०३ पुस २०८२, २० : ३८
सरकारले निजी क्षेत्रमा तोडफोड गर्नु हुँदैन भन्ने सन्देश दिनु पर्छ: चन्द्र ढकाल

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले सरकारले निजी क्षेत्रमा आगजनी र तोडफोड गर्नु हुँदैन भन्ने सन्देश दिनुपर्ने बताएका छन् ।

गोरखापत्र संस्थानको आयोजना र गोरखापत्र एकेडेमीको संयोजनमा भएको गोरखापत्र डिस्कोर्सको छलफलमा सहभागी हुनु हुँदै उहाँले यस्तो बताएका हुन्।

‘कस्तो मनोबल ?’ शीर्षकको प्यानल छलफलमा धारणा राख्दै उनले भने, ‘यो सरकारले निजी क्षेत्रमा आगजनी र तोडफोड गर्नु हुँदैन भन्ने एउटा सन्देश दिनु पर्छ । निजी क्षेत्रले राज्यलाई कर बुझाएर र रोजगारी दिएर महत्त्वपूर्ण योगदान गरेको छ भन्ने बुझाउनु पर्छ ।’ यस्तो सन्देश दिन सके निजी क्षेत्रमाथिको आक्रमण कम हुने उनको विश्वास छ ।

देशमा एउटा राजनीतिज्ञले राजनीति छोड्न सक्ने भए पनि व्यवसायीले व्यवसाय छोड्न नसक्ने भएकाले यसको सुरक्षामा सरकार सचेत बन्नु पर्नेमा उनले जोड दिए । अध्यक्ष ढकालले भने, ‘राजनीतिज्ञले राजनीति छोड्न सक्छन् । तर व्यवसायीले त्यो भन्न सक्दैन । मैले व्यवसाय वा काम छोडेँ भने हजारौँ कर्मचारीको रोजगारी गुम्छ । लोनको भार उल्टो थपिन्छ । हामीसँग काम छोड्ने छुट छैन । त्यसैले निजी क्षेत्रको संरक्षणमा सरकार सचेत बन्नु पर्छ ।’

निजी क्षेत्रको कन्फिडेन्स लुज भएको अवस्थामा प्रधानमन्त्री सुशीला कार्की र अर्थमन्त्री रामेश्वर खनालको पहल महत्त्वपूर्ण रहेको बताए । व्यवसायीको सुरक्षामा सरकारको प्रयास सहयोगी बनेको उनको भनाइ छ ।

उनले केही समय पहिला सरकार र जेन जेड पक्षमा भएको सम्झौताले भने निजी क्षेत्रमा त्रास बढेको बताए । अध्यक्ष ढकालले भने, ‘त्यो सम्झौताले गलत व्यक्तिलाई कारबाही नहुने हो कि भन्ने एउटा त्रास बढेको छ । यो किसिमको सम्झौताले व्यवसायीले आफ्नो कम्पनीको सुरक्षाको प्रत्याभूति गर्न सक्दैनन् । निजी क्षेत्रबिना आर्थिक वृद्धि हुन सक्दैन ।’

नेपालमा व्यवसायीको योगदानको भन्दा नकारात्मक प्रचार भएको भन्दै असन्तुष्टि व्यक्त गरे ।

बहसमा नेपाल उद्योग वाणिज्य महासंघ अध्यक्ष ढकाल, उद्योग विभागका महानिर्देशक राजेश्वर ज्ञवाली, फोर्ब्स ३० अन्डर ३० अर्बान गर्ल निकिता आचार्य, एनसेल निर्देशक डिल्लीराम श्रेष्ठ सहभागी थिए । यो बहसको सहजीकरण विश्वास रेग्मीले गर्नु भएको छ ।

प्रतिक्रिया दिनुहोस