चितवन । शहरी विकास मन्त्री कुलमान घिसिङले भरतपुर चितवनस्थित निर्माणाधीन भरतपुर सिटी हलको शुक्रबार साँझ निरीक्षण गरेका छन् ।
२०७७ साल मंसिरमा सम्झौता भई २०७९ फाल्गुनमा सम्पन्न गर्ने गरी निर्माण सुरु गरिएको सिटी हल निर्माण कार्य सुस्त भएको पाइएपछि निर्माणाधीन हलको निरीक्षण गरेका हुन् । हालसम्म ६० प्रतिशत निर्माण कार्य सम्पन्न भएको उक्त सिटी हलको रुफ (छाना)को डिजाइनमा समस्या आएका कारण निर्माण कार्य करिब डेढ वर्ष अवरुद्ध भएको थियो । हाल रुफ (छाना)को संशोधित डिजाइन स्वीकृत भइसकेपछि निर्माण कार्य सुचारु भएको छ । निर्माण कार्यको समयावधि संशोधन गरी २०८३ असार ११ सम्म थप गरिएको छ । निर्माण सम्झौता ८७ करोड ८८ लाख रहेको सिटी हलमा २ हजार जना क्षमताको मुख्य हल र ३०० क्षमताको सहायक हल सहित ७ वटा ब्लक रहनेछन् ।
मन्त्री घिसिङले मुख्य रूपमा रुफ संरचनाको डिजाइनमा भएको त्रुटिका कारण ढिला भएको पाइएको बताए । उनले सिटी हलको रुफ (छाना) संरचनाको निर्माण सँगसँगै अन्य संरचना निर्माणको कार्य पनि छिटो गर्न निर्देशन दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०४ पुस २०८२, १९ : ४२
लेखकबाट थप