चार जिल्लाका न्यूरोसर्जनले चितवनमा गरे यस्तो सल्लाह

सफल खबर संवाददाता

शनिबार, ०८ मंसिर २०७५, १४ : २८
चार जिल्लाका न्यूरोसर्जनले चितवनमा गरे यस्तो सल्लाह

चितवन । चार जिल्लाका २० जना न्यूरोसर्जनले शुक्रबार साँझ सौराहामा जम्मा भएर न्यूरोसर्जरी सेवालाई अझ प्रभावकारी कसरी बनाउन सकिन्छ भनी छलफल गरेका छन् । कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल भरतपुरको न्यूरोसर्जरी विभागले आयोजना गरेको निरन्तर मेडिकल शिक्षा (सिएमई) कार्यक्रममा सहभागी न्यूरोसर्जनहरुले नेपालमा न्यू्रोसर्जरीको पछिल्लो अवस्थाबारे छलफल गरेका हुन् ।

कार्यक्रममा क्रिम्सन अस्पताल बुटवलका न्यूरोसर्जन डा. केआइसिंह केसी, कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल भरतपुरका न्यूरोसर्जन डा. सोमराज लामिछाने र रेडियोलोजिस्ट डा. हरि रानाले आआफ्नो प्रस्तुतिमार्फत न्यूरोसर्जरीका अनुभव आदानप्रदान र नयाँ प्रविधिबारे छलफल गरेका थिए । उनीहरुको प्रस्तुतिमाथि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जका न्यूरोसर्जन डा. गोपाल सेढाईं, अन्नपूर्ण अस्पताल काठमाडौंका न्यूरोसर्जन डा. वसन्त पन्त र कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल भरतपुरका न्यूरोसर्जरी विभाग प्रमुख डा. विनोद भट्टराईले टिप्पणी गरेका थिए ।

डा. भट्टराईले न्यूरोसर्जरीको क्षेत्रमा कार्यरत चिकित्सकहरुको ज्ञान अभिवृद्धि, अनुभव आदानप्रदान र अन्तरक्रियाको लागि कार्यक्रम आयोजना गरिएको बताउनु भयो । कार्यक्रममा एमबीबीएस अध्ययनरत विद्यार्थी र अस्पतालका कर्मचारीको समेत सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस