प्रहरी हुँ भन्दै शरीर बन्धक बनाई लुटपाट गरेको अभियोगमा दुई जना पक्राउ

सफल खबर संवाददाता

मंगलबार, १७ असार २०८२, १३ : २१
प्रहरी हुँ भन्दै शरीर बन्धक बनाई लुटपाट गरेको अभियोगमा दुई जना पक्राउ

काठमाडौँ । प्रहरी हुँ भन्दै शरीर बन्धक बनाई डरत्रास देखाई लुटपाट गरेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा विराटनगर महानगरपालिका-८ बस्ने २४ वर्षीय समीर हुसेन र सोही महानगरपालिका–६ बस्ने २७ वर्षीय आशिफ अन्सारी रहेका छन् ।

विराटनगर महानगरपालिका-१३ रानीस्थित राईस मिल छेउमा सिटी सफारीमा सवार पुरुषलाई स्कुटरमा सवार ३ जना अपरिचित व्यक्तिहरूले रोकी “हामी जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएका प्रहरी हौँ, अनुसन्धान गर्नु छ भनी स्कुटरको बिचमा जबरजस्ती राखी जतुवास्थित एकान्त स्थानमा लगेका थिए ।

त्यसपछि डरत्रास देखाई पीडितको साथमा रहेको ३ लाख ६४ हजार रुपैयाँ लुटी फरार भएको उजुरी परेपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो । अनुसन्धानका क्रममा घटनामा संलग्न दुई जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

हाल दुवै जनालाई शरीर बन्धक बनाई डाका गरेको आरोपमा जिल्ला अदालत मोरङबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

 

प्रतिक्रिया दिनुहोस