स्वास्थ्य बीमा दाबी प्रक्रियामा पुनरावलोकन संयन्त्र अनिवार्य

सफल खबर संवाददाता

सोमबार, १२ माघ २०८२, १५ : १४
स्वास्थ्य बीमा दाबी प्रक्रियामा पुनरावलोकन संयन्त्र अनिवार्य

काठमाडौँ । स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत सेवा प्रदायक स्वास्थ्य संस्थाबाट पेश हुने दाबीहरू अब प्रारम्भिक रूपमा दाबी पुनरावलोकन संयन्त्रमार्फत जाँच गरी मात्र अगाडि बढाउनुपर्ने भएको छ । 

स्वास्थ्य बीमा बोर्डले यससम्बन्धी व्यवस्था कार्यान्वयन गर्न सबै सम्बन्धित स्वास्थ्य संस्थालाई निर्देशन दिएको छ ।

बोर्डका तर्फबाट वरिष्ठ व्यवस्थापक डा. पवनकुमार साहद्वारा जारी पत्रमार्फत दाबी पेश गर्दा रियल टाइम प्रणाली प्रयोग गरी आवश्यक विवरण अनिवार्य रूपमा प्रविष्ट गर्नुपर्ने स्पष्ट गरिएको छ । 

 

बोर्डले लागू गरेको ‘स्वास्थ्य बीमामा रियल टाइम दाबीसम्बन्धी कार्यविधि, २०८०’ अनुसार दाबी दर्ता तथा मूल्यांकन प्रक्रियालाई व्यवस्थित बनाउने लक्ष्य लिइएको जनाइएको छ ।

दाबी स्वीकृतिको दर सुधार गर्न र प्रक्रियागत त्रुटि न्यूनिकरण गर्न सेवा प्रदायक स्वास्थ्य संस्थाभित्रै सम्बन्धित प्रतिनिधि समावेश रहने गरी दाबी पुनरावलोकन समिति गठन गर्न बोर्डले व्यवस्था गरेको छ । उक्त समितिले दाबीको प्रारम्भिक जाँच, पुनरावलोकन र रुजु गरेपछि मात्र बोर्डले तोकेको मापदण्डअनुसार आवश्यक कागजातसहित प्रणालीमा प्रविष्ट गर्नुपर्ने व्यवस्था गरिएको हो ।

निर्धारित प्रक्रिया र मापदण्ड पालना नगरी पेश गरिएका दाबीहरूको भुक्तानी गर्न बोर्ड बाध्य नहुने कुरा समेत पत्रमार्फत स्पष्ट पारिएको छ । बोर्डका अनुसार यस व्यवस्थाबाट दाबी प्रक्रिया पारदर्शी, प्रभावकारी र उत्तरदायी बन्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस