प्रतिनिधिसभा बैठक

डोलप्रसाद र रामहरिबीच संसदमा चर्काचर्की

सफल खबर संवाददाता

आइतबार, १५ असार २०८२, १४ : ३२
डोलप्रसाद र रामहरिबीच संसदमा चर्काचर्की

काठमाडौं । प्रतिनिधिसभा बैठकमा आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यवाहक सभापति डोलप्रसाद अर्याल र कांग्रेस सांसद रामहरि खतिवडाबीच चर्काचर्की परेको छ । अर्यालले आफूलाई अप्रत्यक्षरूपमा आरोपित गरेर खतिवडाले संसदबाट दिएको अभिव्यक्ति रेकर्डबाट हटाउन सभामुख समक्ष माग गरेका छन् ।

संसद बैठक सुरू भएलगत्तै सधैँजस्तो प्रतिपक्षी रास्वपा र राप्रपाका सांसदहरू आसनबाट उठेका थिए । त्यसपछि सभामुखले रास्वपाका अर्याललाई बोल्न समय दिए । अर्यालले हिजोको बैठकको प्रसंग निकाले ।

उनको भनाइ यस्तो थियो-

सभामुख महोदय,

हामीले कस्तो समाज निर्माण गरेछौं ? काम गरेर खानेहरुले चोरेर खानेहरुलाई जवाफ दिँदै हिँड्नुपर्छ । ३३ दिनदेखि भिजिट भिसाका नाममा भइरहेको मानव तस्करीविरुद्ध आन्दोलनमा छौं । संसदीय समिति वा उच्चस्तरीय आयोगको माग विषयान्तर गर्ने गरी हिजो यही सदनमा हामीमाथि निराधार आरोप लगाउने कोशिस गरियो । राजनीतिलाई पेशा बनाएर देश दोहन गर्नेहरूले आफ्नो पेशा-व्यवसाय गरेर खानेहरूमाथि गम्भीर आरोप लगाउन पछि परेनन् ।

२०४८ सालतिर मन्त्रीको पीए बसेर सरकारी कागजात किर्ते गरेर मान्छे विदेश पठाएवापत हनुमानढोकाको चिसो छिँडीमा धेरै रात बिताएकाहरू यही संसदमा छन् । अरुलाई आक्षेप लगाउनेहरू भिसा पाए भने आफैँ टाप कस्लान् । हो म गर्वका साथ भन्छु । सुमिरे टुर्स एन्ड ट्राभल्स मेरो कम्पनी हो । म यही देशमा केही गरेर खाने मान्छे हो, चोरेर खाने मान्छे होइन । मेरो समय ठिकै चलेको छ, अरुको घडीको समय बिग्रेको छ भने म के भनौं । हामीले पैसा लिएका छौं र फर्केका छैनन् भने प्रमाण पेश गर्न चुनौती दिन्छु । होइन भने निराधार आरोप संसदको रेकर्डबाट हट्नुपर्छ भन्ने सभामुखज्यूसमक्ष रुलिङ माग गर्छु ।

अर्यालले बोल्दाबोल्दै रामहरि खतिवडा उठेर नियमापत्ति गर्न खोजेका थिए । तर, सभामुखले उनलाई रोके । अर्यालले बोलिसकेपछि खतिवडालाई समय दिए ।

खतिवडाले पनि आक्रामकरूपमा जवाफ फर्काए ।

उनको अभिव्यक्ति यस्तो थियोः

चोरको खुट्टा काट् भन्दा माननीयहरू खुट्टा झिक्नुहुन्छ । हामीले कसैको पनि नाम लिएका थिएनौं । हामीले निष्पक्ष छानबिन गर्नुपर्छ मात्र भनेका थियौं । यस्ता कुरा रेकर्डबाट हटाउनका लागि भनेर भर्खरै बोलेका शब्द रेकर्डबाट हटाइयोस् ।

त्यसपछि सभामुखले दुवैलाई सम्बोधन गर्न खोजे । खासगरी खतिवडालाई जिम्मेवारीसाथ बोल्न सुझाव दिए ।

उनले भनेः

माननीयज्यूहरुले आफूले बोलेको विषयमा जिम्मेवारीसाथ बोल्नुपर्छ र त्यसप्रति जवाफदेही हुनुपर्छ । गैरसंसदीय भाषा, एक अर्कालाई आरोप लान्छाना लगाउने र नाम किटेर भन्ने कुरालाई सामान्यतया रेकर्डबाट हटाउने नियमावली र परम्परा छन् । यसको मतलब प्रत्येक कुरा सभामुखलाई देखाएर आफूले बोलेका कुराको छिनोफानो गराउनु उचित हुन्छ कि हुँदैन ? प्रत्येक सदस्यले आफूले बोलेको कुरा जिम्मेवारीसाथ प्रमाणित हुने गरी बोल्नुहुने विश्वास लिन्छु । जनप्रतिनिधिले त्यही विश्वासका साथ राख्न अनुरोध छ ।