लापरबाही प्रमाणित भए कानुनी सजाय भोग्न तयार छौँ : डा. पौडेल

सूर्यप्रकाश कँडेल

शुक्रबार, ०७ मंसिर २०७५, १३ : ४४

चितवन । भरतपुर अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट एवम् नेपाल चिकित्सक संघका केन्द्रीय सदस्य डा. कृष्णप्रसाद पौडेलले चिकित्सकलाई अपराधीलाई जस्तै फौजदारी संहिता लगाउनु मर्यादा विपरीतको काम भएको बताउँदै लापरबाही प्रमाणित भए कानुनी सजाय भोग्न देशभरका चिकित्सक तयार रहेको बताएका छन् । उनले सफल खबर डट कमसँगको भिडियो अन्तर्वार्ता सफल संवादका क्रममा यस्तो बताएका हुन् ।
कुराकानीका क्रममा उनले चिकित्सकले लापरबाही गरेको प्रमाणित भएको खण्डमा ठूलो रकम जरिबाना गराउने अन्तर्राष्ट्रिय अभ्यास भएपनि फौजदारी मुद्दा चलाएर जेल हाल्ने अभ्यास कहीँ कतै नभएको बताए । फौजदारी संहिताको कानूनी डण्डा देखाएपछि चिकित्सकहरु मनोवैज्ञानिक त्रासमा बाँच्नु परेको बताउँदै उनले भने, ‘ज्यानमारा सरह चिकित्सकलाई पनि कारबाही हुने डर देखाएपछि हामीहरु जटिल समस्यालाई रेफर गर्ने अवस्थामा पुगेका छौँ । आफू जेल जाने अवस्था आउँछ भने जोखिम मोल्न कोही पनि तयार हुँदैन । यो कुरा बुझेर सरकारले कानुन परिमार्जन गर्नुपर्छ ।’
डा. पौडेल भरतपुर अस्पतालमा मेडिकल सुपरिटेण्डेण्टको रुपमा काम गर्न सुरु गरेको दुई महिना पुगेको अवसर पारेर सफल खबरले उनीसँग कुराकानी गरेको थियो । कुराकानीमा उनले भरतपुर अस्पताल जिल्लास्तरको नभई केन्द्रीयस्तरको अस्पताल भएको खुलासा पनि गरे । सरकारी कागजपत्रमा नै भरतपुर अस्पताललाई केन्द्रीयस्तरको अस्पताल भनी उल्लेख भएको र यो विषयमा स्वास्थ्य मन्त्रालयका अधिकारीहरु नै बेखबर रहेको समेत उनले बताए ।
चितवन राष्ट्रिय निकुञ्जभित्र रहेको पुरानो पदमपुर बस्तीमा २०२९ साल कात्तिक १४ गते जन्मिएका डा. पौडेल २०७५ साल असोज ५ गतेदेखि भरतपुर अस्पतालको मेडिकल सुपरिटेण्डेण्टको रुपमा कार्यरत छन् । बुबा कपिलामणि पौडेल र आमा तुलसीदेवी पौडेलको पहिलो सन्तान डा. पौडेलका एक जना भाइ र दुई जना बहिनी छन् । २०५६ सालमा गीता शर्मासँग लगनगाँठो कसेका डा. पौडेलका दुई जना छोरी र एक जना छोरा छन् ।
पुरानो पदमपुरमा जन्मिएपनि बाल्यकाल रत्ननगरमा बिताएका डा. पौडेलले २०४५ सालमा रत्ननगरस्थित नेपाल माध्यमिक विद्यालयबाट एसएलसी उत्तीर्ण गरे । त्रिचन्द्र कलेज काठमाडौंबाट २०४८ सालमा आईएससी सिध्याएका पौडेलले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट २०५६ सालमा एमबीबीएस गरेका हुन् । एमबीबीएसपछि एक वर्ष प्रतिष्ठानमै जागिरे रहेका डा. पौडेलले २०५८ सालमा जिल्ला जनस्वास्थ्य कार्यालय पर्वतको प्रमुखका रुपमा सरकारी सेवामा प्रवेश गरे ।
२०६० सालमा वीर अस्पतालमा कार्यरत डा. पौडेल २०६४ सालदेखि चितवनमा कार्यरत छन् । २०६४ देखि २०७० सालसम्म भरतपुर अस्पतालमा अर्थोपेडिक सर्जनका रुपमा कार्यरत डा. पौडेल २०७० देखि २०७३ सम्म रत्ननगर अस्पतालको मेडिकल सुपरिटेण्डेण्ट भई काम गरिसकेका डा. पौडेल त्यसपछि भरतपुर अस्पतालमा कार्यरत छन् । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानबाट अर्थोपेडिकमा एमएस गरेका डा. पौडेलले गतवर्ष अर्थोपेडिकमै प्रोफेसर डिग्री हासिल गरेका छन् ।
नेपाल चिकित्सक संघ चितवन शाखाको २०६६ सालमा सचिव र २०६९ सालमा अध्यक्ष भइसकेका डा पौडेल २०७३ सालबाट संघको केन्द्रीय सदस्यका रुपमा चिकित्सकहरुको अधिकारका पक्षमा कार्यरत छन् । रोटरी क्लब अफ चितवनका सहसचिव डा. पौडेल मितेरी फाउण्डेसनका प्रमुख सल्लाहकार पनि हुन् । चितवन साहित्य परिषदको आजीवन सदस्य रहेका डा. पौडेलको २०७४ सालमा खुसीहरुको वनवास नामक कविता संग्रह प्रकाशित भएको छ ।
प्रस्तुत छ, सफल खबर डट कमले डा. पौडेलसँग गरेको भिडियो कुराकानी :

 

प्रतिक्रिया दिनुहोस