माओवादीद्वारा समिति बनाउने सरकारको निर्णयको स्वागत

सफल खबर संवाददाता

मंगलबार, १० असार २०८२, १३ : २१
माओवादीद्वारा समिति बनाउने सरकारको निर्णयको स्वागत

काठमाडौँ । नेकपा माओवादी केन्द्रले भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउने सरकारको निर्णयप्रति धन्यवाद दिएको छ । मंगलबार प्रतिनिधिसभा बैठकमा माओवादी उपमहासचिव वर्षमान पुनले जेठ ३० गते माओवादीसँग भएको दुई बुँदे सहमति अनुसार सरकारले छानबिन समिति बनाएको भन्दै धन्यवाद दिएका हुन् ।

उनले भिजिट भिसा प्रकरणमा अख्तियारले समेत अनुसन्धान गरिरहेको अवस्थामा अख्तियारको कार्यक्षेत्रभन्दा बाहिर रहेका जनताका विषयलाई सरकारले गठन गरेको समितिले अध्ययन गर्ने विश्वास व्यक्त गरे ।

उनले जनताको सुझाव अनुसार समितिले प्रतिवेदन बुझाउने विश्वास व्यक्त गर्दै प्रतिपक्षीको हैसियतले माओवादीले पनि खबरदारी गरिरहने धारणा राखे ।पुनले लोकतन्त्र गणतन्त्र विश्वकै उत्कृष्ट व्यवस्था रहेको भन्दै लोकतन्त्रलाई सुदृढ र दिगो बनाउन यसमा देखिएका समस्याहरूलाई समाधान गर्दै जानुपर्ने उल्लेख गरे ।

सरकारले भिजिट भिसाको समस्या दीर्घकालीन रूपमा नै समाधान गर्ने गरि छानबिन समिति गठन गरिएको जनाएको छ । मंगलबार प्रतिनिधिसभा बैठकमा सरकारले गठन गरेको छानबिन समितिका विषयमा जानकारी गराउँदै गृहमन्त्री रमेश लेखकले भिजिट भिसाको समस्या अब दीर्घकालीन रूपमै समाधान गर्ने गरि समिति गठन गरिएको जानकारी दिए।

उनले मन्त्रिपरिषद्को बैठकले पूर्वमुख्यसचिव शंकरदास वैरागीको नेतृत्वमा गठन गरेको छानबिन समितिलाई ३० दिनभित्र आफ्नो प्रतिवेदन बुझाउने कार्यदेश दिइएको बताए।

समितिले दिएको प्रतिवेदनलाई सरकारले अक्षरशः कार्यान्वयन गर्ने उनले प्रतिबद्धता जनाए । गृहमन्त्री लेखकले  समितिले अध्यागमन र भिजिट भिसासँग सम्बन्धित विषयमा अख्तियारले गरिरहेको अनुसन्धानमा असर नपार्नेगरि काम गर्ने स्पष्ट पारे ।

भिजिट भिसाका विषयमा देखिएको समस्यालाई उचित ढंगले पहिचान गरेर समाधानका लागि अल्पकालीन, दीर्घकालीन, संरचनागत सबै क्षेत्रमा आवश्यक सुधारका लागि प्रतिवेदन बुझाउने उनले बताए ।

प्रतिक्रिया दिनुहोस