काठमाडौँ । उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत डीन आर थम्प्सनले सोमबार लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेटवार्ता गरेका छन् ।
भेटमा शुभकामना आदानप्रदानसँगै भएको वार्तामा नेपाल–अमेरिका सम्बन्धका विविध आयाम, द्विपक्षीय सहयोग, कूटनीतिक साझेदारी र आगामी सम्भावनाहरूबारे छलफल भएको थियो ।
उपराष्ट्रपति यादवले सन् १९४७ मा कूटनीतिक सम्बन्ध स्थापना भएयता दुवै मुलुकबीच सुमधुर तथा परस्पर सम्मानमा आधारित सम्बन्ध रहँदै आएको बताए । उनले भने, ‘लोकतन्त्र, मानव अधिकार र स्वतन्त्रता हाम्रो साझा मूल्यमान्यता हुन्, जसले हाम्रो सम्बन्धलाई थप बलियो बनाएको छ ।’
उपराष्ट्रपति यादवले सन् १९५१ देखि अमेरिकी सरकारले नेपाललाई प्रदान गर्दै आएको विकास सहायताप्रति धन्यवाद व्यक्त गर्दै आर्थिक–सामाजिक विकास र लोकतान्त्रिक सुदृढीकरणमा अमेरिकाको योगदान प्रशंसनीय रहेको बताए ।
उनले नेपाल सरकारद्वारा सानफ्रान्सिस्को र ड्यालासमा स्थापना गरिएका महावाणिज्य दूतावासहरूबाट नेपाली डायस्पोरालाई कन्सुलर सेवा प्रवाह हुने विश्वास व्यक्त गर्दै व्यापार, प्रविधि तथा लगानीका क्षेत्रमा आपसी सहकार्य अझ सुदृढ गर्नेतर्फ पनि नेपाल प्रतिबद्ध रहेको उल्लेख गरे ।
नेपाल सन् २०२६ सम्ममा अल्पविकसित देशको श्रेणीबाट स्तरोन्नति हुन लागेको सन्दर्भमा उपराष्ट्रपति यादवले यस उपलब्धिका लागि अमेरिका जस्ता विकास साझेदारहरूको सक्रिय र दीर्घकालीन सहकार्यको आवश्यकता रहेको बताए ।
उनले मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) अन्तर्गत सञ्चालित पूर्वाधार परियोजनाहरू र यूएसएआईडी मार्फत भइरहेका कार्यक्रमहरू पुनः सञ्चालन हुनेमा हामी आशावादी रहेको उल्लेख गरे ।
सगरमाथा संवादजस्ता अन्तर्राष्ट्रिय मञ्चमार्फत जलवायु परिवर्तनजस्ता संवेदनशील मुद्दामा विश्वसमुदायसँग सहकार्य गरेर अघि बढ्नुपर्ने नेपाल सरकारको धारणा प्रस्तुत गर्दै उपराष्ट्रपति यादवले नेपाल–अमेरिका साझेदारी मानव कल्याणमा केन्द्रित विषयहरूमा समेत सशक्त सहयोगको उदाहरण बनेको बताए ।
संयुक्त राज्य अमेरिकाका राजदूत डीन आर थम्प्सनले एमसिसी, युएसएआईडी लगायत अन्य विकास परियोजनाहरू सकारात्मक रूपमा निरन्तरताको मार्गमा अघि बढेको बताए।
उनले अमेरिकामा नेपाली समुदाय अन्त्यतै सक्रिय र जीवन्त भूमिका निर्वाह गरिरहेको उल्लेख गर्दै नेपाल र अमेरिका परस्पर सहकार्य गर्दै महत्त्वपूर्ण कामहरू गर्न सक्ने बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०९ असार २०८२, १६ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ओलीलाई समवेदना दिन गुन्डु पुगे उपराष्ट्रपति यादव
‘महिलाको सबलीकरणले मात्र राजनीतिक स्थिरता सम्भव हुन्छ’ : उपराष्ट्रपति यादव
निर्वाचनले गणतन्त्रलाई थप सबल र सुदृढ बनाउने उपराष्ट्रपति यादवको विश्वास
उपराष्ट्रपति यादव र भारतीय दूतावासका निमित्त राजदूतबीच शिष्टाचार भेट
मुलुकको हितमा सरकार र निजी क्षेत्र काँधमा काँध मिलाएर अगाडि बढ्नुपर्नेमा उपराष्ट्रपति यादवको जोड
निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छ : उपराष्ट्रपति यादव