इजरायलमा रहेका नेपालीको अवस्थाबारे परराष्ट्रमन्त्री राणाले लिइन् जानकारी

सफल खबर संवाददाता

सोमबार, ०२ असार २०८२, १५ : ४४
इजरायलमा रहेका नेपालीको अवस्थाबारे परराष्ट्रमन्त्री राणाले लिइन् जानकारी

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपालका लागि इजरायली राजदूतसँग भेट गरी इजरायल र इरानबीचको युद्धबाट विकसित परिस्थितिबारे जानकारी लिएकी छन् ।

नेपालका लागि इजरायलका राजदूत स्मगलर एरी बाससँग परराष्ट्र मन्त्रालयमा सोमबार भएको भेटमा मन्त्री राणाले युद्धको अवस्थामा इजरालमा रहेका नेपालीको अवस्थाबारे जानकारी लिएकी हुन् ।

मन्त्री राणाले युद्धको अवस्थामा नेपाली नागरिक असुरक्षित रहेको भन्दै सुरक्षित अवस्थाका लागि आवश्यक सहायताको पहल गरिदिन राजदूत बासलाई आग्रह गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

राजदूत बासले इजरायलमा रहेका नेपालीहरू सुरक्षित रहेका जानकारी गराएका थिए । उनले युद्धको अवस्थाबारे जानकारी गराउँदै इजरायलमा रहेका नेपालसहित सबै देशका नागरिकको सुरक्षामा इजरायल सरकार गम्भीर रहेको बताएका थिए ।

इजरायल र इरानबीच युद्धको अवस्था निम्तिएपछि आइतबार परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गरेर इजरायल र इरानमा रहेका नेपालीहरू सुरक्षित रहेको जानकारी गराएको थियो ।

प्रतिक्रिया दिनुहोस