बाजुरा । बाम्का बजारमा शुक्रबार दिउँसो भएको आगलागीपीडितलाई तत्काल राहत उपलब्ध गराउन सरकारसँग माग गरिएको छ । खाना पकाउने ग्यासको सिलिन्डरबाट भएको आगलागीको क्षतिको विवरण संकलन गरी प्रदेश र संघीय सरकारसँग राहत माग गर्ने निर्णय गरिएको छ ।
बुढीगंगा नगरपालिका–६ बाम्का बजारको नवदुर्गा होटेलमा खाना पकाउने ग्यास पड्किएर आगलागी भएको थियो । सो आगलागीबाट ३० पसल जलेर नष्ट भएका प्रहरी नायव उपरीक्षक इकवाल हवारीले जानकारी दिए ।
ग्यास सिलिन्डर पड्किएर खुद्रा तथा कपडा व्यापार गर्दै आएका स्थानीयको टिनले छाएका पसल जलेर नष्ट भएका थिए । जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्यासहितको टोलीले घटनास्थलको अनुगमन गरी तत्काल सरकारसँग राहत माग गरिएको बताए ।
आगलागीबाट पीडित भएकाहरुको क्षतिपूर्तिका लागि प्रहरीलाई तथ्यांक संकलन गरी जिल्ला विपद् व्यवस्थापन समितिबाट प्रदेश र संघीय सरकारबाट आवश्यक राहत माग गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी पाध्याले बताए ।
घटनास्थलको अध्ययनपछि सोही पालिकामा जनप्रतिनिधि राजनीतिक दलसहित सरोकारवालाको आकस्मिक बैठकले क्षतिको विवरण संकलन गर्ने र सो क्षतिपूर्ति उपलब्ध गराउन विपद् प्राधिकरण, प्रदेश र स्थानीय तहका साथसाथै विभिन्न संघसंस्थालाई आग्रह गर्ने निर्णय गरिएको छ ।
जिल्ला विपद् व्यवस्थापन समितिको आकस्मिक बैठकले आगलागीबाट पीडितलाई एकद्वार प्रणालीबाट राहत वितरण गर्ने निर्णय गरिएको छ । जिल्लामा हुने आगलागीका घटना नियन्त्रण गर्न स्थानीय तहमा दमकलको अभाव रहेको पाइएको छ । यहाँ ९ वटै पालिकाले गाडी खरिद गरे पनि दमकलको भने अभाव छ । आगलागीबाट करोडौँ रुपैयाँको क्षति भएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २४ जेठ २०८२, ०९ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चार महिनामा एक हजार बढी आगलागीका घटना
धनगढीमा भीषण आगलागीबाट आठवटा सटर जलेर नष्ट
वडा कार्यालयमा आगलागी, आठ लाख बराबरको क्षति
टर्कीमा आगलागीः ५५० भन्दा बढीलाई सुरक्षित स्थानमा सारियो
नागार्जुनमा आगलागी, क्षतिको विवरण आउँन बाँकी
आगलागी भएको हुम्ला उनापानीमा एक करोडभन्दा बढी क्षति