विपक्षीमाथि संगठित आक्रमण गर्न एमाले निकट पत्रकारको निर्णय : देशभर ‘सोशल मिडिया टास्क फोर्स’ निर्माण गर्ने

‘सामाजिक सञ्जाललाई ‘सत्ता सुरक्षा कवच’ बनाउने र ‘गोयबल्स शैली’मा तथ्यलाई तोडमोड गरेर ‘प्रोपगन्डा’ फैलाउने रणनीति

सफल खबर संवाददाता

शुक्रबार, २३ जेठ २०८२, ०८ : ४४
विपक्षीमाथि संगठित आक्रमण गर्न एमाले निकट पत्रकारको निर्णय : देशभर ‘सोशल मिडिया टास्क फोर्स’ निर्माण गर्ने

काठमाडौं । कुनै समय सामाजिक सञ्जालमा विपक्षीमाथि धावा बोल्न आफ्नै समर्थकहरूलाई ‘साइबर सेना’ का रूपमा परिचालन गर्ने अघोषित नीति लिएको नेकपा एमाले अहिले भने त्यही माध्यममा आफैँ रक्षात्मक बन्दै गएको देखिन्छ ।

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको पार्टी र सरकारले सामाजिक सञ्जालमा तीव्र आलोचना खेपिरहेका बेला ‘म झोले हो’ अभियान जस्ता विचलनपूर्ण प्रतिक्रिया दिएर जनमत डाइभर्ट गर्न खोजिए पनि ती प्रयास उल्टै प्रत्युत्पादक बन्दै गएको देखिएको छ ।

यही परिवेशमा एमाले निकट पत्रकारहरूको संगठन प्रेस चौतारीले हालै सामाजिक सञ्जालमा आक्रामक प्रचारका लागि देशव्यापी ‘सोशल मिडिया टास्क फोर्स’ निर्माण गर्ने निर्णय गरेको छ ।

चौतारीले प्रदेश र जिल्ला तहमा कम्तीमा तीन जनाको टोली बनाई पार्टी र सरकारविरुद्धको “घेराबन्दी, भ्रम र दुस्प्रचार” तोड्ने नाममा यस्तो टास्क फोर्स निर्माण गर्न लागेको हो ।  यस्तो टास्क फोर्स निर्माणका लागि चौतारीले केन्द्रीय सर्कुलर नै गरी निर्देशन गरेको छ ।

एमाले महासचिव शंकर पोखरेलको विशेष उपस्थितीमै चौतारीले यस्तो टास्क फोर्स निर्माण गर्ने निर्णय लिएको हो । चौतारीको यो निर्णयमा एमाले महासचिव पोखरेलको उपस्थिति रहनुले यसको औपचारिकता र राजनीतिक उद्देश्य प्रस्ट  देखिन्छ ।

 

हेर्नुहोस् एमाले निकट पत्रकारको संगठन चौतारीले गरेको सर्कुलरको बुँदाँ नम्बर ११

एमाले महासचिव शंकर पोखरेलको विशेष उपस्थितीमै चौतारीले यस्तो टास्क फोर्स निर्माण गर्ने निर्णय लिएको हो । चौतारीको यो निर्णयमा एमाले महासचिव पोखरेलको उपस्थिति रहनुले यसको औपचारिकता र राजनीतिक उद्देश्य प्रस्ट  देखिन्छ ।

चौतारीको यस्तो निर्णय अब प्रेस स्वतन्त्रता र डिजिटल सूचनाको विश्वसनीयतामाथि गम्भीर प्रश्न उठाउने विषय बन्दैछ । चौतारीको यस्तो संरचनाले प्रतिपक्षीमाथि संगठित रुपमा आक्रमण गर्न सक्ने, मिथ्या वा अप्रमाणित सूचना प्रवाह गर्न सक्ने, र ‘गोयबल्स शैली’मा तथ्यलाई तोडमोड गरेर ‘प्रोपगन्डा’ फैलाउने सम्भावना बढाउने देखिन्छ ।

आजको युगमा तथ्यभन्दा झूट छिटो फैलिन्छ । खासगरी सामाजिक सञ्जाल, मेसेजिङ एप र कतिपय समाचार कक्षहरूबाट समेत झूटा र भ्रामक सामग्रीहरु सार्वजनिक हुने क्रम तीव्र बनेको छ । पत्रकारहरूले दैनिकजसो बिना स्रोतका दाबी, परिवर्तन गरिएका भिडियो र राजनीतिक उद्देश्य बोकेका सामग्रीसँग जुध्नुपर्ने अवस्था छ । यस्तो संवेदनशील समयमा प्रेस चौतारीले बनाउने भनिएको आक्रामक सामाजिक सञ्जाल नेटवर्कले लोकतान्त्रिक संवादलाई झनै विषाक्त बनाउन सक्ने चिन्ता बढाएको छ ।

पत्रकारिताका प्राध्यापकहरु प्रेस चौतारीले देशभर बनाउन खोजेको सामाजिक सन्जाल टास्क फोर्सले पत्रकारिता पेशलाई नै चुनौतिदिने र मिथ्या सूचनाको बाढी ल्याउनसक्ने चिन्ता बढाएको बताउँछन् ।
‘सामाजिक सञ्जाललाई ‘सत्ता सुरक्षा कवच’ बनाउन खोज्नु र जनमत निर्माणलाई तोडमोड गरेर आक्रोशलाई दबाउने माध्यम बनाउनु कुनै पनि लोकतान्त्रिक दल वा पत्रकार संगठनको भूमिका हुन सक्दैन,’ पत्रकारिता अध्यापन गराउँदै आएका एक प्राध्यापकले चौतारीको निर्णयपछि भने, ‘चौतारीको यस्तो संरचना सूचनालाई हतियार बनाउने, ट्रोल पेज र नक्कली मिडिया रणनीति अन्तर्गत प्रयोग गर्ने नियतसँग मेल खान्छ । यो पत्रकारिताको इथिक्स (आचारसंहिता) भित्र पर्देन ।’

प्रतिक्रिया दिनुहोस