वाम एकताको सन्देशसहित चीनबाट स्वदेश फर्किदै पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी

'चीनले उनलाई पूर्वराष्ट्रप्रमुख मात्र होइन, एमालेभित्रको सम्भावित ‘भविष्य नेतृत्व’ का रूपमा समेत सम्मान'

सफल खबर संवाददाता

सोमबार, १९ जेठ २०८२, ०८ : ३७
वाम एकताको सन्देशसहित चीनबाट स्वदेश फर्किदै पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी

File Photo

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी चीन भ्रमण सम्पन्न गरी आज बिहान १०ः४५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्दैछिन् ।

१० दिने यो भ्रमणका क्रममा उनले चीनको राजधानी बेइजिङमा उच्च तहका चिनियाँ नेताहरूसँग महत्वपूर्ण राजनीतिक भेटवार्ता गर्दै नेपालमा वाम एकताको सन्देश बोकेर फर्किन लागेकी हुन् ।

पूर्वराष्ट्रपति भण्डारीले स्वदेश फर्केपछि त्रिभुवन विमानस्थलमै पत्रकार सम्मेलन आयोजना गर्ने तय भएको छ । भ्रमण अवधिभर चीनले उनलाई पूर्वराष्ट्रप्रमुख मात्र होइन, एमालेभित्रको सम्भावित ‘भविष्य नेतृत्व’ का रूपमा समेत सम्मान गरेको देखिन्छ ।

चीन सधैं नेपालमा स्थायित्व, विकास, र राजनीतिक स्पष्टताको पक्षमा उभिँदै आएको छ । यिनै कारणले वाम शक्तिहरू मिल्नुपर्ने र विभाजित रहँदा बाह्य हस्तक्षेपका ढोका खुल्ने भन्दै चीनको सन्देश चनाखो देखिएको छ । विशेषगरी अमेरिकासँगको सामरिक प्रतिस्पर्धा र भारतको प्रभाव सन्तुलन गर्ने हिसाबले चीन नेपालमा ‘मित्रवत् स्थिरता’ चाहन्छ', जसको लागि उसको नजर वाम गठबन्धन वा एकतामा केन्द्रित छ ।

गत जेठ १० गते राति भण्डारीसहितको प्रतिनिधिमण्डल काठमाडौंबाट बेइजिङ प्रस्थान गरेको थियो । भ्रमणका क्रममा उनले शनिबार चीनका उपराष्ट्रपति हान चेन, चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ चियानछाओ, तथा सीपीसीका शीर्ष नेता चेङ सँग महत्वपूर्ण राजनीतिक भेटघाट गरेकी छन् ।

विशेषतः चेङ जस्ता पार्टीको स्थायी समिति स्तरका नेता, जो सीपीसीमा आठौं वरियताका नेताका रूपमा चिनिन्छन्, भण्डारीसँग प्रत्यक्ष भेट गर्नु भ्रमणलाई चीनले कति महत्व दिएको हो भन्ने स्पष्ट संकेत हो ।

वाम एकताको स्पष्ट सन्देश

भेटघाटका क्रममा चिनियाँ पक्षले नेपालमा वाम शक्तिहरूबीच एकता आवश्यक रहेको स्पष्ट सन्देश दिएको छ । खासगरी एमाले, माओवादी केन्द्र, र एकीकृत समाजवादी मिलेर बलियो वाम पार्टी निर्माण गर्न सकिने धारणा चीनले अघि सारेको छ । चीनको राजनीतिक अभिमुखता यही बलियो वाम शक्ति निर्माणमा केन्द्रित देखिन्छ ।

पूर्वराष्ट्रपति भण्डारीलाई चिनियाँ नेतृत्वले नेपालको वाम शक्ति एकतामा संयोजनकारी भूमिका खेल्न सक्ने नेताका रूपमा हेरिरहेको आकलन राजनीतिक वृत्तमा भइरहेको छ । एमालेभित्र भविष्यको नेतृत्वका सम्भावनाका विषयमा विद्यादेवी भण्डारीको नाम पुनः चर्को रूपमा उठिरहेको बेला भएको यो भ्रमणले थप संकेत दिएको देखिन्छ । चीनले उनलाई एमाले नेतृत्वको वैकल्पिक पात्रका रूपमा हेरेको चर्चा व्यापक भइरहेको छ ।

विशेषगरी पार्टी अध्यक्ष बन्ने सम्भावनाका सन्दर्भमा उनको यो भ्रमणले राजनीतिक गम्भीरता र अन्तर्राष्ट्रिय ‘ब्याकिङ’ समेत जोडेको अनुमान विश्लेषकहरूले गरिरहेका छन् ।

चीनको रणनीति र नेपालप्रतिको दृष्टिकोण

चीन सधैं नेपालमा स्थायित्व, विकास, र राजनीतिक स्पष्टताको पक्षमा उभिँदै आएको छ । यिनै कारणले वाम शक्तिहरू मिल्नुपर्ने र विभाजित रहँदा बाह्य हस्तक्षेपका ढोका खुल्ने भन्दै चीनको सन्देश चनाखो देखिएको छ ।

विशेषगरी अमेरिकासँगको सामरिक प्रतिस्पर्धा र भारतको प्रभाव सन्तुलन गर्ने हिसाबले चीन नेपालमा ‘मित्रवत् स्थिरता’ चाहन्छ', जसको लागि उसको नजर वाम गठबन्धन वा एकतामा केन्द्रित छ । यस अगाडी चीन भ्रमणमा गएका माओवादी नेताहरुको टोलीसँग पनि चीनले नेपालमा वाम एकता वा गठबन्धनमा जोड दिँदै आएको थियो ।

प्रतिक्रिया दिनुहोस