१ हजार २ सय ५० किलो गाँजासहित तीन जना पक्राउ

सफल खबर संवाददाता

शुक्रबार, १६ जेठ २०८२, १४ : २८
१ हजार २ सय ५० किलो गाँजासहित तीन जना पक्राउ

उदयपुर । चौदण्डीगढी नगरपालिका-१ रानीटारबाट अवैध लागू औषध गाँजा करिब १ हजार १ सय ४३ किलो २ सय ७५ ग्रामसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने रत्न माया श्रेष्ठ र ४२ वर्षीया कमला श्रेष्ठ रहेका छन् । रत्न मायाको घरमा लागू औषध गाँजा लुकाई छिपाई राखेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा ३५ वटा बोरामा रहेको उक्त परिमाणको गाँजा फेला पारी दुवै जनालाई बिहीबार दिउसो पक्राउ गरेको हो । 

यस्तै सिन्धुलीका हरिहरपुरगढी गाउँपालिका-२ झनझनेबाट अवैध लागू औषध गाँजा करिब १ सय ७ किलो १ सय १० ग्राम सहित रौतहट गरूडा नगरपालिका-४ बस्ने १९ वर्षीय गोपाल साहलाई पनि प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी झनझनेबाट खटिएको प्रहरीले कुलेखानीबाट सिन्धुलीतर्फ आउँदै गरेको प्र.२-०३-००१ च ५६७१ नम्बरको बोलेरो पिकअपलाई तलासी गर्दा सिमेन्टको बोराले छोपी लुकाई छिपाई राखेको उक्त परिमाणको गाँजा फेला पारी पिकअप चालक साहलाई  शुक्रबार बिहान पक्राउ गरेको हो । 

पक्राउ परेकाहरूलाई कारबाही तथा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । 

 

प्रतिक्रिया दिनुहोस