अब्बल बन्दै चितवन कान्दाका चेपाङ बालबालिका

सफल खबर संवाददाता

सोमबार, १२ जेठ २०८२, १० : ०५
अब्बल बन्दै चितवन कान्दाका चेपाङ बालबालिका

File Photo

भरतपुर । चेपाङ समुदायका बालबालिकाले पछिल्लो समय उत्कृष्ट नतिजा हाँसिल गर्न थालेका छन् ।

चेपाङ बालबालिका मात्रै अध्ययनरत चितवनको राप्ती नगरपालिका–१३ स्थित कान्देश्वरी आधारभूत विद्यालयले यस वर्षको कक्षा ८ को परीक्षामा पालिकाको उत्कृष्ट विद्यालय बनेको छ ।

कक्षा ८ मा अध्यापन सुरु गरेको पहिलो वर्षमा नै विद्यालय उत्कृष्ट बनेको हो । यहाँ आवासीय सुविधासहितको विद्यालय स्थापना भएपछि चेपाङ समुदायका बालबालिका पढाइमा अब्बल बन्दै गएको विद्यालयका प्रधानाध्यापक बालकृष्ण थपलियाले बताए ।

शिक्षक, विद्यार्थी, अभिभावक र विभिन्न सङ्घसंस्थाको सहयोगमा विद्यालय उत्कृष्ट बनेको उनको भनाइ छ । उनका अनुसार यस वर्ष १३ जना विद्यार्थीले कक्षा ८ को परीक्षा दिएका थिए । त्यसमध्ये एक जनाले ए प्लस, सात जनाले ए र दुई जनाले बि प्लस ल्याएका छन् ।

‘पहिलो वर्षमा नै यसरी उत्कृष्ट नतिजा ल्याउँदा निकै खुसी छौँ’, उनले भने, ‘शिक्षक र विद्यार्थीको अथक मेहनतले यहाँसम्म आइपुगेका हौँ ।’

चेपाङ बालबालिका मात्र अध्ययनरत यस विद्यालयको नतिजाले सबैलाई उत्साहित बनाएको बताए । यस विद्यालयमा लक्ष्मी प्रतिष्ठानले आवासीय सुविधासहित छात्रावास सञ्चालन गरेपछि चेपाङ बालबालिकाको शिक्षामा सुधार आएको हो । ‘यहाँ बिहान ४ बजेदेखि राति ९ बजेसम्म नै विद्यार्थीलाई अध्यापन गराइन्छ’, उनले भने, ‘शिक्षकहरु पनि आवासीय रुपमै बसिरहनुभएको छ ।’

राप्ती नगरपालिकामा २७ वटा सामुदायिक विद्यालय रहेका छन् । त्यसमध्ये कान्देश्वरी आधारभूत विद्यालयसहित तीनवटा स्कुलले कक्षा ८ को परीक्षामा सतप्रतिशत नतिजा हासिल गरेको नगरपालिकाको शिक्षा शाखाकी प्राविधिक सहायक लक्ष्मी लामिछानेले जानकारी दिइन् ।

यस नतिजालाई नगरपालिकाले समेत सकारात्मक रुपमा लिएको उनको भनाइ छ । लामिछानेले बजार क्षेत्रका विद्यालयसँगै विकटमा रहेको विद्यालयले पनि प्रतिस्पर्धा गर्न सक्छन् भन्ने उदाहरण कान्दाको विद्यालय बनेको बताइन् ।

कान्दा चितवनको सबैभन्दा विकट ठाउँका रुपमा चिनिन्छ । सवारीसाधन र बिजुली समेत नपुगेको यस ठाउँ शिक्षाको क्षेत्रमा रुपान्तरण हुँदै गइरहेको स्थानीय सीताबहादुर चेपाङले बताए । उनले पछिल्लो समय बालबालिकामा पढाइप्रति लगाव बढेको भन्दै हरेक अभिभावकमा आफ्ना छोराछोरी स्कुल पठाउनुपर्छ भन्ने धारणाको विकास भएको बताए ।

यहाँ पुग्न अझै पनि दुई–तीन घण्टा हिँड्नुपर्ने बाध्यता छ । यहाँका विद्यार्थी कक्षा ८ उत्तीर्ण भएपछि अन्य ठाउँमा जानुपर्ने बाध्यता छ । गरिबीका कारण यहाँका बालबालिकाले बीचमै पढाइ छाड्ने गर्दछन् । पछिल्लो समय ८ कक्षा उत्तीर्ण बालबालिकालाई लक्ष्मी प्रतिष्ठानले काभ्रेमा सञ्चालन गरेको छात्रावासमा कक्षा १२ सम्म पढाउन लैजाने गरेको प्रधानाध्यापक थपलियाले बताए ।

प्रतिक्रिया दिनुहोस