पूर्वसभामुख रानाभाटको आर्थिक सहायताको निर्णय फिर्ता गर्न सरकारसँग गगन थापाको माग

बुधबार, १९ पुस २०७४, १४ : ३४
पूर्वसभामुख रानाभाटको आर्थिक सहायताको निर्णय फिर्ता गर्न सरकारसँग गगन थापाको माग

चितवन । नेपाली कांग्रेसका युवा नेता गगन थापाले पूर्वसभामुख तारानाथ रानाभाटलगायत विशिष्ट व्यक्तिलाई राज्यकोषबाट दिइने आर्थिक सहायताको निर्णय फिर्ता गर्न सरकारसँग माग गरेका छन् । नेता थापाले विशिष्ट व्यक्ति उपचार सहायतासम्बन्धी कार्यविधि पूर्णरुपमा कार्यान्वयन गरेर रानाभाटलगायतलाई दिइने भनेको आर्थिकह सहायताको निर्णय फिर्ता गर्न माग गरेका हुन् ।

उनले बुधबार मध्यान्ह ट्वीट गर्दै भनेका छन्, ‘‘सरकारले विशिष्ट व्यक्ति उपचार सहायतासम्बन्धी कार्यविधि पूर्णतः कार्यान्वयन गर्दै जस्केलाबाट दिइने सहायतामा रोक लगाउनुपर्छ र हालै पूर्वसभामुखलगायतलाई राज्यकोषबाट आर्थिक सहायता दिने गरी भएको निर्णय अविलम्ब फिर्ता लिनुपर्दछ ।’’

निजी खर्चमा जनुसुकै देशमा उपचार गराउन व्यक्ति स्वतन्त्र भएपनि राज्यकोषबाट रकम दिएर पहुँचवालाहरुलाई विदेश उपचार गर्न पठाउने र जनताले देशभित्र सहज उपचारबाट वञ्चित हुने अवस्था अन्यायपूर्ण र विभेदकारी मात्रै नभएर लोकतन्त्रको मूल्य र मान्यता विपरित भएको नेता थापाको भनाइ छ ।

आफू स्वास्थ्यमन्त्री हुँदा राज्यकोष दुरुपयोग रोक्न तयार पारिएको कार्यविधि सरकारले स्वीकृत गरेको उनले स्मरणसमेत गराएका छन् । कांग्रेस नेता थापाले कार्यविधि पारित भएपछि जथाभावी उपचारका लागि राज्यले आर्थिक सहयोग दिने प्रचलन धेरै हदसम्म नियन्त्रण भएको र कार्यविधि स्वीकृत भएपछि स्वास्थ्य मन्त्रालयबाट एक जनालाई पनि आर्थिक सहायता उपलब्ध नगराइएको पनि स्मरण गराएका छन् ।

उक्त कार्यविधिमा पूर्व एवम् वहालवाला विशिष्ट पदाधिकारीहरुले नेपालमा उपचार सम्भव हुने रोगको नेपालभित्रै उपचार गर्नुपर्ने, नेपालमा उपचार सम्भव नहुने रोगको हकमा मेडिकल बोर्डको सिफारिशमा मात्रै अर्थ मन्त्रालयको सहमति तथा स्वास्थ्य मन्त्रालयको प्रस्तावमा सरकारले बढीमा १५ लाख रुपैयाँसम्म उपचार सहायता उपलब्ध गराउने र कुनै एक व्यक्तिलाई त्यस्तो सहायता एक पटकका लागि मात्रै उपलब्ध गराउन सकिने व्यवस्था गरिएको छ ।

तर, गत मंसिर ६ गते बसेको मन्त्रीपरिषद् बैठकले स्वास्थ्य उपचारका लागि पूर्वसभामुख रानाभाटलाई ७ लाख र सर्वोच्च अदालतका न्यायाधीश तेजबहादुर केसीलाई ५ लाख ७५ हजार रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको थियो । जुन रकम केही दिन अघि अर्थ मन्त्रालयले दुवै जनालाई हस्तानान्तरण गरिसकेको छ । 

प्रतिक्रिया दिनुहोस