प्रतिनिधि सभामा प्रत्यक्ष र राष्ट्रिय सभामा समानुपातिक सांसद मात्र बसौँ : जितजंग बस्नेत

सफल खबर संवाददाता

बुधबार, ३१ बैशाख २०८२, १५ : ३७
प्रतिनिधि सभामा प्रत्यक्ष र राष्ट्रिय सभामा समानुपातिक सांसद मात्र बसौँ : जितजंग बस्नेत

काठमाडौँ । नेपाली काँग्रेसका नेता जितजंग बस्नेतले स्थानीय तहदेखि केन्द्रसम्म पुनर्संरचना आवश्यक रहेको बताएका छन् । वडा तहमा तीन सदस्य, प्रदेशमा पाँच मन्त्री र केन्द्रमा प्रतिनिधि सभामा प्रत्यक्ष निर्वाचित सांसद मात्र रहने गरी पुनर्संरचना गर्नुपर्ने उनको प्रस्ताव छ ।

आज राष्ट्रिय सभाको बैठकमा बोल्दै बस्नेतले भने, ‘सबै तहका संरचनाहरू, स्थानीय निकायदेखि संघीय संरचना पनि घटाउनुपर्छ । हाम्रो वडा तहमा पनि पाँच जना वडा सदस्य काम छैन, तीन जना भए पुग्छ । दलित, महिला र एक जना, तीन जना भए पुग्छ ।’

उनले थपे, ‘प्रदेशमा पनि संरचना घटाउनुपर्‍यो, पाँच जना मन्त्री भए पुग्छ । संघीय संसदमा पनि । डाइरेक्ट जो पार्लियामेन्ट मेम्बर छन्, प्रतिनिधि सभामा बस्छन् । जो समानुपातिक वाला छ, राष्ट्रिय सभामा बस्नुपर्‍यो । त्यसको पनि संरचना घटाउनुपर्‍यो ।’

उनले सांसदहरूको भत्ता समेत घटाउनुपर्ने धारणा राखे । बस्नेतले भने, ‘सांसदहरूको पनि तलदेखि माथिसम्म भत्ता घटाउनुपर्‍यो, नभए भत्ता पनि खारेज गर्नुपर्‍यो ।’ नेपाली काँग्रेसले समावेशी लोकतान्त्रिक गणतन्त्रात्मक संविधानमा विश्वास गर्ने बताउँदै उनले त्यसको संरचना भने घटाउनुपर्ने बताए । उनले भने, ‘हाम्रो विश्वास भनेको यो मल्टिपार्टी डेमोक्रेसी हो । यसमा संरचना कति घटाउन सकिन्छ, घटाएर अगाडि बढौँ भन्ने मलाई लाग्छ ।’

उनले बजेटका प्रमुख प्राथमिकता र सिद्धान्तलाई २६ भागमा विभाजन गरी प्रस्तुत गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस