काठमाडौँ । नेपाली काँग्रेसका नेता जितजंग बस्नेतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई नैतिकता सिकाउनु पर्ने र राजावादीहरूको सम्पत्ति छानबिन गर्नुपर्ने बताएका छन् ।
रास्वपाले भिजिट भिसा प्रकरणमा नेपाली काँग्रेसका नेता एवम् गृहमन्त्री रमेश लेखकलाई नैतिकताको आधारमा राजीनामा दिनुपर्ने माग गरिरहेका बेला काँग्रेस नेता बस्नेतले उल्टै रास्वपालाई नै नैतिकताको पाठ पढाउनुपर्ने बताए ।
राष्ट्रिय सभाको बिहीबारको बैठकमा बस्नेतले भने, ‘तपाईँहरूको पार्टी सभापतिलाई मुद्दा लगाएको छ । पार्टी सभापति जेलमा हुनुहुन्छ । जेलमा जाने पार्टी सभापति संसदीय दलकै नेता बस्नुपर्ने अनि पार्टी सभापति छोड्न नहुने ? अनि हामी नेपाली काँग्रेसलाई चाहिँ नैतिकता सिकाउने । यो कस्तो नैतिकताको कुरा हो ?’
बस्नेतले राजावादीहरूलाई पनि निशाना साँधे । उनले राजावादीहरूको सम्पत्ति छानबिन गर्नुपर्ने धारणा राखे ।‘३० वर्षे शासन, ४० वर्षे शासन गरेर आएका व्यक्तिहरू आज हेरौंन उनीहरूका महलहरू । पञ्चका महलहरू हेरौंन । आज सम्पत्ति उनीहरूको जाँच्नुपर्ने हो,’ बस्नेतले भने ।
उनले नेपालमा राजा फर्किन नसक्ने समेत बताए । ‘एउटा कुरा म प्रष्ट के भन्न चाहन्छु भने यो देश हामीले बनाउने हो, गणतन्त्र हामीले ल्याएको हो र राजा हामीले फालेको हौँ । अब राजा आउन सक्दैन,’ उनले भने, ‘अब चारवटा तासको पत्तामा चाहिँ राजा रहन्छ ।’
राजालाई विष्णुको अवतार मान्ने राजावादीहरूलाई पनि उनले व्यंग्य गरे । उनले भने, ‘विष्णुको अवतार राजा भएको भए मूर्ति चोरिने थिएन होला, गजुरहरू चोरिने थिएन होला, कोकिनको ट्रान्जिट व्यापार हुने थिएन होला, ड्रग्सको व्यापार हुने थिएन होला । सबैकुछ गर्ने अनि विष्णुको अवतार भन्ने ? विष्णुको अवतारले त गर्दैन होला । म पनि कट्टर हिन्दु नै हुँ ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०५ असार २०८२, १५ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रतिनिधि सभामा प्रत्यक्ष र राष्ट्रिय सभामा समानुपातिक सांसद मात्र बसौँ : जितजंग बस्नेत