मकवानपुर । मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघले जिल्लाका कृषकहरूले उत्पादन गरेको दुध खरिद गरेर भुक्तानी नदिने उद्योगीहरूको विवरण प्रशासन कार्यालयमा बुझाएको छ ।
दुग्ध विकास संस्थान र निजी डेरी उद्योगहरूले लामो समयदेखि कृषकहरूलाई दुधको बक्यौता रकम भुक्तानी नगरेकोले भन्दै संघले मकवानपुरका प्रमुख जिल्ला अधिकारी स्कीम श्रेष्ठलाई उद्योगहरूको विवरण बुझाएको हो । कृषकहरूको बक्यौता रकम भुक्तानीको पहल गरिदिन संघले प्रशासनसँग आग्रह समेत गरेको छ ।
केन्द्रीय दुग्ध सहकारी संघले घोषणा गरेको कार्यक्रम अन्तर्गत प्रमुख जिल्ला अधिकारीलाई उक्त विवरण पेस गरिएको मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष हरिप्रसाद कँडेलले बताए । दुग्ध उत्पादक कृषकहरूसँगको विगतको सहमतिसमेत कार्यान्वयन नभएको भन्दै विवरण बुझाइएको उनले बताए ।
गत जेठ २५ गतेदेखि असार ४ गतेसम्म कृषकहरूको दुधको भुक्तानीका लागि गरेको आन्दोलन पश्चात् कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव, सहसचिव, राष्ट्रिय दुग्ध विकास बोर्डका निर्देशक, दुग्ध विकास संस्थानका महाप्रबन्धक लगायत आन्दोलनरत किसान प्रतिनिधिहरूको उपस्थितिमा भएको १० बुँदे सम्झौता गरेको थियो । उक्त सम्झौता हालसम्म कार्यान्वयन नभएकोले संघले जेठ १ गतेदेखि चरणबद्ध आन्दोलनको घोषणा गरेको समेत गरेको छ ।
हाल मकवानपुरमा ६२ वटा सहकारी संस्था मार्फत करिव १३ हजार कृषकहरूले दैनिक ८५ हजार लिटर भन्दा बढी दुध उत्पादन गरी संकलन गर्दै मासिक १८ करोडभन्दा बढी रकम आम्दानी गर्दै अध्यक्ष कँडेलले बताए ।
संघको सहजीकरणमा देशका विभिन्न दुग्ध उद्योगहरूले मकवानपुरका सहकारीहरूबाट कच्चा दुध खरिद बापत २२ करोड भन्दा बढी रकम भुक्तानी गर्न बाँकी रहेको उनले बताए । पटक पटकको ताकेता र आग्रह गर्दा पनि उक्त उद्योगहरूले सम्झौता अनुसारको रकम भुक्तानी नगरेको उनको भनाई छ ।
संघले पेस गरेको विवरण बुझ्दै मकवानपुरकी प्रमुख जिल्ला अधिकारी स्कीम श्रेष्ठले स्थानीय क्षेत्रमै दुधको विविधीकरणका लागि उद्योग स्थापना गर्न सुझाव दिइन् । उनले भुक्तानी दिन बाँकी उद्योगीहरूसँग आवश्यक समन्वय गर्ने पनि बताइन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ३१ बैशाख २०८२, १५ : २३
लेखकबाट थप