काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक सभापति डोलप्रसाद अर्यालले वर्षा याममा हुने सम्भावित जोखिमलाई मध्यनजर गरी आवश्यक पूर्वतयारी थाल्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
प्रतिनिधि सभाको बैठकमा मंगलबार बोल्दै कार्यवाहक सभापति अर्यालले वर्षासम्बन्धित जोखिमबारे पूर्वतयारी थाल्न सरकारलाई सुझाव दिएका हुन् ।
उनले वर्षा लाग्न बाँकी रहँदै बाढीले नागरिकलाई दुःख दिन थालेको बताए । उनले प्रधानमन्त्री र मन्त्रीहरू हवाईजहाज र हेलिकप्टरमा सवार हुने हुँदा सडकको अवस्था जानकारी हुन नसक्ने भन्दै नागढुंगादेखि मुग्लिङसम्मको सडकको पुनर्निर्माण कछुवाको तालमा भइरहेको बताए ।
उनले भने, ‘वर्षायाम लाग्न बाँकी नै छ । बाढीले नागरिकलाई दुःख दिन थालिसकेको छ । नवलपरासीमा पुल भाँचिदा पूर्वपश्चिम राजमार्ग अवरुद्धदेखि बीपी राजमार्ग बाढीले अवरुद्ध भएका खबरहरू आएका छन् । प्रधानमन्त्री र मन्त्रीहरू हवाईजहाज र हेलिकप्टरमा सवार हुने हुँदा सडकको अवस्था थाहा हुने कुरै भएन ।
नागढुंगादेखि मुग्लिङसम्मको सडकको पुनर्निर्माण कछुवाको तालमा भइरहेको छ । यस पटकको वर्षायाममा नागरिकले धेरै दुःख र कष्ट भोग्नुपर्ने मात्रै होइन सानादेखि ठुलासम्म दुर्घटना हुने धेरै सम्भावना देखिएकाले सम्बन्धित निकायले बेलैमा ठेकेदार र सम्बन्धित कम्पनीसँग छलफल गरियोस् । तीन सिफ्टमा काम गराएर भए पनि वर्षा अगावै जोखिम कम गराउने वातावरण सिर्जना गर्न सरकारको ध्यानाकर्षण गराउँछु ।
कार्यवाहक सभापति अर्यालले तीन चरणमा काम गराएर भए पनि वर्षा अगावै जोखिम कम गराउने वातावरण सिर्जना गर्न सरकारको ध्यानाकर्षण गराए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ३० बैशाख २०८२, १२ : ५७
लेखकबाट थप