रूपन्देही । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रुपमा सञ्चालन गर्नका लागि सरकारलाई बाध्य बनाउनुपर्ने बताएका छन् । उनले विमानस्थल सञ्चालन सरकारको प्राथमिकतामा नपरेको दावी गरे ।
सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देहीले भैरहवामा आयोजना गरेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रुपमा सञ्चालनका लागि छलफल कार्यक्रममा अध्यक्ष लिङ्देनले यस्तो बताएका हुन् ।‘यो विमानस्थल नचल्नुपर्ने कुनै कारण छैन । तपाईहरुको अभियानमा हाम्रो पूर्ण साथ र समर्थन रहनेछ, ’उनले भने–‘यो विमानस्थल सञ्चालन गर्नका लागि हाम्रो महत्वपूर्ण भूमिका रहन्छ ।’
उनले सरकारले धार्मिक पर्यटनमा जोड दिनुपर्नेमा बताए । उनले लुम्बिनी आउने पर्यटकलाई फोकस गर्नुपर्ने धारणा राखे । लिङ्देनले पैसा खानकै लागि नेपालमा योजनाहरु बनेको भन्ने बुझ्नुपर्ने बताए ।‘ठूलो योजना ल्याएपछि ठूलो कमिसन एकैपटक खान पाइन्छ । अन्तर्राष्ट्रिय विमानस्थल बन्ने भएपछि मान्छे पनि खुसी हुन्छन् र विरोध गर्दैनन् भन्ने बुझाइ छ’उनले भने–‘भैरहवा विमानस्थलमा ४ सय विगाह जग्गा किन्नुपर्नेमा किन ८ सय किनियो ?’
उनले भैरहवा र पोखरा विमानस्थलबारे पटकपटक संसदमा कुरा उठाएको बताए । विमानस्थल निर्माणमा भएका भ्रष्टाचारमा संलग्न व्यक्तिहरुलाई कारवाही र विमानस्थल सञ्चालन हुनुपर्ने उनको भनाइ थियो । यो सरकारको लगानी होइन हाम्रो टाउकोमा ऋण बोकाएर ४१ ऋर्ब खर्च गरेर किन नचल्ने एअरपोर्ट बनाइयो, उनले प्रश्न गरे ।
निजी क्षेत्रको विकास बिना देशको अर्थतन्त्र मजबुत र देशको विकासको कल्पना गर्न नसकिने उनले बताए । सार्वजनिक लेखा समितिका सदस्य समेत रहेका लिङदेनले अहिले सबैभन्दा प्रताडित निजी क्षेत्र रहेको बताए ।
उनले कर तिर्न पनि घुस खुवाउनुपर्ने अवस्था रहेको बताए । निजी क्षेत्रलाई बलियो नबनाएसम्म देश बलियो हुन नसक्ने उनले जिकिर गरे । अहिलेको व्यवस्था र प्रणालीमा सुधार नल्याएसम्म देश र जनताको अवस्थामा सुधार आउन नसक्ने उनको भनाइ थियो ।
त्यस्तै नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका सभापति कृष्ण प्रसाद शर्माले पटकपटक विमानस्थल सञ्चालन हुनुपर्ने माग राखे पनि सुनुवाइ नभएको बताए । ‘स्वर्गीय दीपक बोहराको पनि एअरपोर्ट सञ्चालन होस् भन्ने सपना थियो, ’उनले भने ।
काठमाडौं विमानस्थलमा चाप हुँदा भैरहवामा भने सुनसान रहेको उनले बताए । सबै राजनीतिक दलको चासो हो भने विमानस्थल सञ्चालन हुनुपर्ने उनले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २८ बैशाख २०८२, १३ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राजसंस्था फर्काउने आन्दोलन निष्कर्षमा नपुर्याई हामी छुट्दैनौं : राजेन्द्र लिङ्देन
रवीन्द्र मिश्रलाई भेट्न पुगे राजेन्द्र लिङ्देन
राजेन्द्र लिङ्देनले बुझाए पोखरा विमानस्थलको अध्ययन प्रतिवेदन ( पूर्णपाठ)
राजसंस्थाको कुरा गर्नु लोकतन्त्रको विरोध होइन: राजेन्द्र लिङ्देन
सीमा तोकेर नागरिकलाई रोक्न खोज्नु निरङ्कुशता : लिङ्देन
बालुवाटार घेरेर भात पानी बन्द गरिदिन सक्ने लिङ्देनको चेतावनी