ललितपुर । उपराष्ट्रपति रामसहायप्रसाद यादवले जलवायु परिवर्तन वर्तमानको सबैभन्दा गम्भीर संकट भएको बताएका छन् । साथै उनले जलवायु संकट नियन्त्रणका हरेक प्रयासमा सञ्चार क्षेत्र सक्रिय हुनुपर्ने बताएका छन् ।
नेपाल प्रेस युनियन केन्द्रीय समितिद्वारा ललितपुरमा आज आयोजित लोमान्थाङ अन्तर्राष्ट्रिय मिडिया समिटको उद्घाटन गर्दै उनले जलवायु परिवर्तनका कारण उत्पन्न संकट नियन्त्रण तथा समाजमा चेतना फैलाउन मिडियाले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।
“जलवायु परिवर्तन र त्यसको प्रभाव घटाउन पत्रकारहरूको सक्रियता आवश्यक छ । सत्य तथ्यमा आधारित समाचार सामग्रीहरूको उत्पादन गर्दै जनचेतना फैलाउने, नीति निर्मातालाई उत्तरदायी बनाउने, नवीन प्रविधिको प्रयोग तथा समस्या समाधानका उपायका साथ मिडिया प्रस्तुत हुनुपर्छ,” उनले भने ।
जलवायु परिवर्तन रोकथामका सरकारी प्रयासहरूमाथि निगरानी बढाउने, वातावरणमैत्री प्रविधि, हरित ऊर्जा तथा दिगो विकाससम्बन्धी जानकारी आम नागरिकसम्म सरल भाषामा पस्कन उपराष्ट्रपतिले पत्रकारहरूलाई सुझाव दिए । सनसनी फैलाउने समाचारले गलत सूचना प्रवाह गर्ने भएकाले त्यसप्रति पत्रकारहरू सचेत हुनुपर्नेमा उनले जोड दिए । उनले पत्रकारहरू पेशागत रूपमा निरपेक्ष हुनुपर्नेमा जोड दिए ।
“प्रेस स्वतन्त्रता लोकतन्त्रको मेरुदण्ड हो, लोकतन्त्रलाई सशक्त बनाउन प्रेस स्वतन्त्रता अनिवार्य छ, स्वतन्त्र प्रेस नागरिकहरूलाई सही सूचना प्रदान गर्ने, सरकारको जबाफदेहिता सुनिश्चित गर्ने तथा आम नागरिकको आवाज उठाउने एक महत्त्वपूर्ण माध्यम पनि हो,” स्वतन्त्र प्रेसका माध्यमबाट लोकतन्त्र सुदृढ हुने बताउँदै उपराष्ट्रपतिले भने ।
सामाजिक सञ्जालहरूमा प्रमाणबिना समाचार फैलाउने, गलत जानकारीलाई सत्यका रूपमा प्रस्तुत गरी आम नागरिकमा भ्रम सिर्जना गर्ने, ‘डीपफेक’ प्रविधिद्वारा गलत चित्र र भिडियो उत्पादन गरी सार्वजनिक धारणा प्रभावित भइरहेको चुनौतीपूर्ण अवस्थामा तथ्य जाँच्ने प्रणालीलाई बलियो बनाउनुपर्नेमा उनले जोड दिए ।
परराष्ट्र मन्त्री आरजु राणा देउवाले प्रेस स्वतन्त्रता र लोकतन्त्रको सुदृढीकरणबाट समाजमा सकारात्मक प्रभाव पर्ने तथा मुलुक उन्नतिको मार्गमा अग्रसर हुनसक्ने बताइन् ।प्रविधिको तीव्र विकास र सञ्चारका परम्परागत माध्यमहरूको परिवर्तनसँगै नवीन माध्यमले गलत सूचनाको तीव्र फैलावटलाई बढावा दिएकाले लोकतन्त्रको आधारशिलालाई क्षति गर्ने तिनको गलत प्रयोग र प्रवृत्ति नियन्त्रण गर्नुपर्छ भनिन् ।
परराष्ट्रमन्त्रीले लोकतन्त्रमा बहस, आलोचना र भिन्न दृष्टिकोणलाई आत्मसात् गरिने भएकाले बहुलवादलाई पक्षपोषण गर्ने स्वतन्त्र प्रेसले आर्थिक विकास, सामाजिक उन्नति र सांस्कृतिक समृद्धिको वातावरण सिर्जनालाई केन्द्रमा राख्नुपर्ने विचार व्यक्त गरिन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २७ बैशाख २०८२, १४ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
युवाका सिर्जनात्मक, सकारात्मक र परिवर्तनकारी पहलकदमीसँग सहकार्य गर्दै अघि बढ्नुको विकल्प छैनः उपराष्ट्रपति यादव
उपराष्ट्रपति यादव र अमेरिकी राजदूत थम्प्सनबिच शिष्टाचार भेटवार्ता
महिला सशक्तीकरणका लागि आर्थिक स्वतन्त्रता अनिवार्य शर्त हुनुपर्छ : उपराष्ट्रपति यादव
गौतमबुद्धको प्रकृति प्रेमी दृष्टिकोणले वातावरण संरक्षणमा योगदान पुग्ने: उपराष्ट्रपति
वन तथा वातावरणको संरक्षण गर्न नीति तथा कार्यक्रमहरु तर्जुमा गरी कार्यान्वयन गर्न आवश्यकः उपराष्ट्रपति यादव
उपराष्ट्रपति यादव र राजदूत श्रीवास्तवबिच भेटवार्ता