काठमाडौँ । नेपाली कांग्रेसकी सांसद सीता मिजारले संविधानमा लेख्दैमा समाज छुवाछुतमुक्त नहुने बताएकी छन् । बुधबार प्रतिनिधिसभा बैठकमा सरकारले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको वार्षिक नीति तथा कार्यक्रममाथि धारणा राख्दै सांसद मिजारले यस्तो बताएकी हुन् ।
उनले समाजमा हुने छुवाछुतमुक्त गर्नका लागि सरकारले नीति र कार्यक्रमहरू बनाउन माग गरिन् । राख्दै उनले संविधानले दशकअघि नै देशलाई छुवाछुतमुक्त घोषणा गरेपनि समाजमा अझैपनि त्यस्तो कुप्रथा कायम रहेको बताइन् ।
उनले संविधानले देशलाई जातीय विभेद र छुवाछुत मुक्त राष्ट्र घोषणा गरे पनि अझै समाजमा विभेद रहेको बताइन् । उनले भनिन्, ‘४० लाखभन्दा बढी दलित समुदायका व्यक्तिहरुले आज पनि विभेद खेप्न बाध्य छन् । विभेद संविधानमा लेखेर मात्रै हट्दैन, त्यसका लागि कार्यक्रम दिनुपर्छ ।’
उनले संविधानले मौलिक हककोरुपमा व्यवस्था गरिएका धारा–२४ र धारा ४० सँग सम्बन्धित कानुनहरू निर्माण गरी कार्यान्वयन गर्नुपर्ने माग गरिन् । दलित समुदायलाई हुने विभेद रोक्न सरकारले कानून बनाएर प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा जोड थियो । उनले विभेदमुक्त समाज हुनको लागि दलित समुदायले कैले सम्म, कति पुस्तासम्म पर्खनुपर्ने हो ? भन्दै प्रश्न गरिन् ।
सांसद मिजारले अहिले पनि दलित समुदायका व्यक्तिहरु र महिलामाथि बढी हत्या, हिंसा, सामुहिक बलात्कार, यौन दुर्व्यवहार, छुवाछुत जस्ता घटनाहरु निरन्तर भइरहेको बताइन् । उनले दलित समुदायले न्यायालयबाट समेत न्याय पाउन नसकिरहेको भन्दै सरकारको ध्यानाकर्षण गराइन् ।
उनले सरकारले ल्याएको नीति तथा कार्यक्रममा दलित समुदायलाई प्राथमिकतामा नराखिएको प्रति असन्तुष्ट व्यक्त गरिन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २४ बैशाख २०८२, १३ : १७
लेखकबाट थप