स्वास्थ्य संस्थामा गएर प्रसुति गराउने महिलाहरुको संख्या ह्वात्तै बढ्यो

बुधबार, १९ पुस २०७४, १२ : २८
स्वास्थ्य संस्थामा गएर प्रसुति गराउने महिलाहरुको संख्या ह्वात्तै बढ्यो


तेह्रथुम ।  तेह्रथुममा स्वास्थ्य संस्थामै गएर प्रसूति गराउने महिलाको संख्या बढेको छ । घरमै प्रसूति हुने तथा बढी जोखिम हुनसक्ने भन्दै स्वास्थ्य संस्थाबाट प्रसूति गराउने महिलाको संख्या बढेको हो ।

जिल्लाको दुर्गम गाउँका बासिन्दामा समेत सुत्केरी गराउन स्वास्थ्य संस्थामै जानुपर्छ भन्ने सोचको विकास हुँदै गएको हो ।  आर्थिक वर्ष २०७३÷७४ मा जिल्लाका स्वास्थ्य संस्थाबाटै ६९० जनाले प्रसूति गराएका छन् । त्यसमध्ये ५ सय ५५ जनाले साधारण प्रसूति सेवा लिएका छन् । बाँकी ७१ जनाको प्रसूति शल्यक्रिया गरेर गरिएको छ भने ६४ जनाले आकस्मिक प्रसूति सेवा लिएका छन् । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार यो संख्या अघिल्लो वर्षको भन्दा १०० ले बढी हो ।

अघिल्लो आव २०७२/७३ मा जिल्लाका स्वास्थ्य संस्थाबाट ५९० जनाले मात्रै प्रसूति गराएका थिए । चालू आवको हालसम्मको अवधिमा पनि प्रसूति गराउनेको संख्या बढ्दो देखिएको कार्यालयका प्रमुख डा.मुक्तिनारायण शाहले बताए । जिल्ला अस्पतालमा मात्रै चालू आवको असोज मशान्तसम्ममा ११२ जनाले प्रसूति सेवा लिएका छन् ।

जिल्लाबाट भरपर्दो स्वास्थ्य सेवाका लागि भन्दै सेवाग्राही धरान र विराटनगरका सुविधासम्पन्न अस्पतालमा झर्ने गर्छन् । तर पछिल्लो समय जिल्ला स्वास्थ्य कार्यालय र अस्पताल विकास समितिको चुस्त व्यवस्थापनले सेवाग्राहीमा जिल्लाकै स्वास्थ्य संस्थाप्रतिको विश्वास बढ्दै गएको देखिएको छ ।

स्वास्थ्य चेतना बढ्दै गएकाले ग्रामीण भेगका महिलासमेत सुत्केरी हुन जिल्ला अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र र स्वास्थ्य चौकीलगायतका स्वास्थ्य संस्थामा जान थालेका छन् ।

“घरमा सुत्केरी हुँदा हुने जोखिम र स्वास्थ्य संस्थामा हुने फाइदा जानेपछि महिला स्वास्थ्य संस्थामै आउन थाले”, कार्यालयका जनस्वास्थ्य निरीक्षक लभरेञ्ज शाहले भने, “स्वास्थ्य संस्थामै आएर प्रसूति गराउँदा पाइने प्रोत्साहन र यातायात खर्चले समेत सहज बनाएको छ ।”

उनका अनुसार स्वास्थ्य संस्थामै गएर प्रसूति गराउने महिलालाई सरकारले यातायात खर्चवापत रु एक हजार उपलब्ध गराउँदै आएको छ भने गर्भवती भएपछि नियमित जाँच गरेवापत प्रोत्साहनस्वरुप थप रु ४०० दिने गरेको छ ।

जिल्लामा सदरमुकाम म्याङ्लुङमा रहेको जिल्ला अस्पतालमा आकस्मिक शल्यक्रियासहितको प्रसूति सेवा र सामान्य प्रसूति गरी दुवै सेवा उपलब्ध छ ।

प्रतिक्रिया दिनुहोस