प्रतिनिधिसभाको बैठक

प्रिसा मृत्युबारे सत्य तथ्य पत्ता लगाउन सरकारलाई सभामुखको निर्देशन

सफल खबर संवाददाता

सोमबार, २२ बैशाख २०८२, ११ : ५०
प्रिसा मृत्युबारे सत्य तथ्य पत्ता लगाउन सरकारलाई सभामुखको निर्देशन

काठमाडौँ । भारतको किट विश्वविद्यालयमा अध्ययनरत प्रिसा साहको मृत्युबारे सरकारलाई सत्य तथ्य पत्ता लगाउन सभामुखले रुलिङ गरेका छन् । सोमबारको प्रतिनिधिसभाको आकस्मिक समयमा सांसदहरूले किट विश्वविद्यालयमा नेपाली विद्यार्थीको मृत्युको विषयलाई लिएर आवाज उठाएका थिए ।

त्यसपछि सभामुख देवराज घिमिरेले भारतको किट विश्वविद्यालयमा नेपाली विद्यार्थीको मृत्यु हुनु राष्ट्रको संवेदनशील विषय भएको भन्दै सत्य तथ्य पत्ता लगाउन सरकारलाई निर्देशन दिएका हुन् । साथै उनले घटनाबारे संवाद अघि बढाएर परिवारलाई सहयोग गर्न र विदेशमा अध्ययनरत विद्यार्थीको आवश्यक सुरक्षा मिलाउन सरकारलाई निर्देशन दिएका हुन् । उक्त विश्वविद्यालयमा अध्ययनरत प्रकृति लम्सालपछि प्रिसा साहको रहस्यमय मृत्यु भएको थियो ।

‘भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा अध्ययनरत नेपाली विद्यार्थी प्रिसा साहको निधनबारे माननीयज्यूहरूले आकस्मिक समयमा उठाउनुभएको विषयमा सदनको गम्भीर ध्यानाकर्षण भएको छ’, सभामुखले रुलिङ गर्दै भने-  ‘उज्यालो भविष्यका सपना बोकेर अध्ययनका लागि बिदेसिएका विद्यार्थीहरूको एकपछि अर्को रहस्यमय मृत्युको घटना राष्ट्रको संवेदनशीलता र जिम्मेवारीसँग जोडिएको गम्भीर प्रश्न पनि हो । सरकारलाई यस घटनाप्रति गहिरो चासो लिँदै सत्य तथ्य पत्ता लगाउन भारत सरकारसँग उच्च तहमा कूटनीतिक संवाद अघि बढाउन र परिवारलाई आवश्यक न्यायिक सहयोग गर्न निर्देश गर्दछु ।’ 

साथै उनले विदेशमा अध्ययनरत नेपाली विद्यार्थीहरूको सुरक्षा सुनिश्चित गर्न दीर्घकालीन नीतिगत पहलहरू अवलम्बन गर्न सरकारलाई अपिल गरे ।

प्रतिक्रिया दिनुहोस