संस्था बचाउनका लागि एनआरएनए अध्यक्षमा मैले त्याग गरेँः शर्मा

सफल खबर संवाददाता

आइतबार, २१ बैशाख २०८२, ११ : ४९
संस्था बचाउनका लागि एनआरएनए अध्यक्षमा मैले त्याग गरेँः शर्मा

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए)का अभियन्ता आरके शर्माले संस्था बचाउनका लागि एकता महाधिवेशनबाट आफूले अध्यक्ष पदमा त्याग गरेको प्रतिक्रिया दिएका छन् ।

एकता महाधिवेशनबाट महेश श्रेष्ठ निर्वाचित भएसँगै आइतबार रातोपाटीसँग कुराकानी गर्दै उनले संस्था बचाउनका लागि आफूले त्याग गरेको प्रतिक्रिया दिएका हुन् ।

‘एकता महाधिवेशनमा ८० प्रतिशत डेलिगेट्स मध्यपूर्वबाटै हुँदाहुँदै पनि संस्था बचाउनका मैले त्याग गरेको हुँ’, उनले भने । यद्यपि मध्यपूर्वका एनआरएनए यस पटक पनि निराश भएको उनले बताए ।

‘एनआरएनएमा सधैँ मध्यपूर्व नै मारमा पर्दै आएको छ’, उनले भने, ‘संस्था बचाउनका लागि जित्ने पद पनि साथीभाइलाई दिएर सर्वसम्मत बनाउन सहयोग गरेँ ।

यसअघि शनिबार उद्घाटन समारोहमा शर्माले  मध्यपूर्व सधैँ संघको नेतृत्वमा पुग्नबाट हेपिएको बताएका थिए ।  शर्माले ७५ प्रतिशत रेमिटेन्स पठाउने श्रमिकको क्षेत्रबाट गैरआवासीय नेपाली संघको नेतृत्व हुनुपर्ने बताएका थिए ।

निर्वाचन भएको खण्डमा शर्मा नै अध्यक्ष हुने स्थिति रहेपनि सहमति गर्ने भनेर कांग्रेस निकट महेश श्रेष्ठलाई नेतृत्व दिइएको बताइएको छ । एनआरएनएको बद्री केसी पक्षको सहभागिता बिनै उच्चस्तरीय समितिका संयोजक शेष घलेले एकताको महाधिवेशन गराएका हुन् । 

प्रतिक्रिया दिनुहोस