भैरहवा। सर्वोच्च अदालतकी न्यायाधीश सपना प्रधान मल्लले कानूनी अनुसन्धानको वर्तमान प्रणालीलाई सुधार गर्नुपर्ने बताएकी छिन् ।
लुम्बिनी बौद्ध विश्वविद्यालयको स्कूल अफ लले आयोजना गरेको ‘राष्ट्रिय अभ्यास अदालत’ प्रतियोगिताको पुरस्कार वितरण कार्यक्रममा उनले नेपालको संविधानले करुणासहितको न्यायको कल्पना गरेको बताइन् ।
अरुलाई पीडाबाट मुक्त गराउनु न्यायको अभिप्राय भएको उल्लेख गर्दै उनले भनिन्, 'कानून र करुणा एकअर्काका विपरीत होइनन्, कानूनले न्याय बुझ्नुपर्छ, करुणायुक्त न्याय आजको आवश्यकता हो, त्यसो भएन भने न्याय हुँदैन । अपराधको अनुसन्धान र अभियोजनमा पनि करुणा हुनुपर्छ ।'
लुम्बिनी प्रदेशसभाका सभामुख तुलाराम घर्तीले कानूनमा न्यायिक करुणाको व्यवस्था हुनुपर्ने विचार व्यक्त गरे ।महान्यायाधिवक्ता रमेश बडालले बुद्धले दिएका सन्देशलाई न्याय प्रणालीमा रुपान्तरण गर्दै जान आवश्यक रहेको बताए ।
नेपाल बार एशोसिएशनका अध्यक्ष विजयप्रसाद मिश्रले बौद्ध न्याय प्रणालीलाई न्याय सम्पादनमा अनुशरण गर्दा कानूनी क्षेत्रमा नयाँ अभ्यास स्थापित हुने बताए ।
लुम्बिनी बौद्ध विश्वविद्यालयका रजिष्ट्रर डा. तिलकराम आचार्यले राष्ट्रिय एवं अन्तर्राष्ट्रिय बजारमा बिक्न सक्ने जनशक्ति विश्वविद्यालयले उत्पादन गर्दै आएको बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २० बैशाख २०८२, १६ : १५
लेखकबाट थप