काठमाडौं। नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले प्रवासी नेपालीलाई विदेशमा सिकेको सीप र पूँजीलाई स्वदेशमा लगानी गरि तीव्र आर्थिक समृद्धि हासिल गर्न आग्रह गरेका छन् ।
नेपाली कांग्रेसको जनसम्पर्क समिति समन्वय विभागद्वारा पार्टीको केन्द्रीय कार्यालय सानेपामा बिहीबार आयोजित ‘प्रवासमा नेपालीः सरकारको दायित्व र जनसम्पर्क समितिहरूको भूमिका’ विषयक अन्तरक्रियालाई सम्बोधन गर्दै उनले प्रवासी नेपालीको चाहना अनुसारको वातावरण राज्यको सबै निकायमा बनाइ सक्षम र सबल व्यक्तिलाई सहभागी गराउन क्रियाशील रहेको बताए ।
‘देशभन्दा बाहिर रहेर पनि देश र जनताको हितमा सोच्नुभएको छ, पार्टीको महाधिवेशन र महासमितिमा समेत समेट्ने प्रयास गरेको छौं, पार्टीको विधान परिवर्तन गरेर महाधिवेशनबाट केन्द्रीय समितिमा प्रतिनिधित्व गराउन प्रयास गर्नेछौं’, उनले भने ।
सभापति देउवाले विश्वको जुनसुकै भूमिमा भए पनि नेपाली हौं भन्ने भावनाका साथ उन्नति र प्रगतिमा लाग्न आग्रह गरे । उनले नेपालमा लोकतान्त्रिक गणतन्त्र बलियो बनाउन प्रवासी नेपालीको बलियो साथ र सहयोग आवश्यक रहेको उल्लेख गरे ।
पार्टीका उपसभापति एवं पूर्वमन्त्री धनराज गुरुङले यस्ता अन्तरक्रिया र छलफलले भएका समस्यालाई समाधान गर्ने गरि काम गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले विदेशमा रहेका नेपालीको भिसा नवीकरण, श्रम स्वीकृतिलगायतका सामान्य काममा समेत ढिलाइ हुँदा असाधारण क्षति व्यहोर्नुपरेको भन्दै पार्टीको केन्द्रीय कार्यालयमा समेत यसको सहजीकरणका लागि डेस्क स्थापना गर्नुपर्नेमा जोड दिए ।
उनले गैरआवासीय नेपालीलाई परेको समस्या समाधान गर्नेगरी नेपालमा सहज रूपमा काम गर्न सक्नेगरी लगानीमैत्री वातावरण सिर्जना गर्नेगरि छलफल केन्द्रित भएर पार्टीलाई सुझाव दिन आग्रह गरे ।
नेपाली कांग्रेसका पूर्वउपसभापति गोपालमान श्रेष्ठले पार्टीको पक्षमा जनमत तयार गर्दै श्रम गर्न विदेश गएका सम्पूर्ण नेपालीको हितमा हुनेगरी पार्टीले सरकार र संसद्मा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।
पार्टीका पूर्वमहामन्त्री विमलेन्द्र निधिले जनसम्पर्क समितिको भूमिकालाई प्रभावकारी बनाउन निरन्तर अन्तरक्रिया हुनु आवश्यक रहेको भन्दै संसारमा रहेका नेपालीलाई जोड्दै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीमा जनमत सिर्जना गर्न र आर्थिक समृद्धि रक्षाका लागि भूमिका निर्वाह गर्न आवश्यक रहेको बताए ।
कांग्रेसका पूर्वमहामन्त्री एवं राष्ट्रियसभामा संसदीय दलका नेता कृष्णप्रसाद सिटौलाले विभिन्न देशमा रहेका प्रवासी नेपालीको फरकफरक समस्या रहेको भन्दै उनीहरूमा नेपालको समृद्धि होस् भन्ने साझा धारणा रहेको बताए । उनले प्रवासी नेपालीको हितमा नीतिगत व्यवस्थाका लागि प्रभावकारी कानून निर्माणमा पार्टीले जोड दिने बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १८ बैशाख २०८२, १४ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बजेटमा श्रमिकलाई अधिकार सम्पन्न बनाउनुपर्छ : शेरबहादुर देउवा
कांग्रेसले नै पहिलोपल्ट सामाजिक न्यायसहित उदार अर्थव्यवस्थाको नीति लिएको थियो : सभापति देउवा
गठबन्धन जसरी पनि टिक्छ, केही भएको छैन: देउवा
स्वदेश फर्किंदै देउवा दम्पती
आन्दोलनरत शिक्षकलाई विद्यालय फर्काउने वातावरण बनाउन महामन्त्रीद्वयलाई देउवाको निर्देशन
संयन्त्र डाकेर छलफल गर्न ओली-देउवा तयार