लागुऔषध दुव्र्यसन र बच्ने उपाय

विहीबार, २२ कार्तिक २०७५, १३ : ४०
लागुऔषध दुव्र्यसन र बच्ने उपाय

लागुऔषध दुव्र्यसन अहिले विश्वव्यापी समस्याको रूपमा देखिएको छ । गाँजा, कोकिन, कफ सुगर, हिरोइनलगायतका दुव्र्यसनको प्रभावमा संसारभरका युवा परेका छन् । विश्वमा अहिले भइरहेका आपराधिक गतिविधिमध्ये ६० प्रतिशत अपराध लागुपदार्थका कारण भइरहेको छ । हरेक वर्ष १ करोडको ज्यान लागुपदार्थकै कारण जान्छ ।

नेपाल पनि यसबाट अछुतो छैन । विशेषगरी, किशोर–किशोरीहरू यस्तो दुव्र्यसनमा फसेका छन् । खराब साथीको संगत, छोराछोरीमाथि अभिभावकको कम वा अत्यधिक निगरानीका कारण समस्या देखिएका छन् । लागुपदार्थको सहज पहुँच, यसको असरबारे जानकारीको अभावलगायतका कारण पनि युवाहरू दुव्र्यसनमा फसेका छन् ।

समस्या

ड्रग्सको प्रयोग डरलाग्दो समस्या हो । ड्रग्स प्रयोगकर्ता आफ्नो जिम्मेवारीबाट पन्छन चाहन्छन् । यसले पारिवारिक तथा सामाजिक समस्या निम्त्याउँछ ।
अल्पकालीन वा दीर्घकालीन स्वास्थ्य समस्या देखिन्छ । मुुटुरोग, एचआइभी, हेपाटाइटिस बीलगायत रोगको खतरा रहन्छ ।
मानसिक रूपमा कमजोर बनाउँछ । प्रयोगकर्ताहरू कानुनी तथा आपराधिक झमेलामा फस्न सक्छन्, किनकि ड्रग्सको प्रयोग प्रतिबन्धित छ ।

समाधानका उपाय

युवालाई कुलतबाट टाढा राख्नका लागि सबैभन्दा पहिले उनीहरूमा यसविरुद्ध सचेतना जगाउन जरुरी छ । उनीहरूलाई ड्रग्सको सामाजिक र मानसिक असरका विषयमा जानकारी दिनुपर्छ ।
परिवारले किशोर–किशोरीलाई निगरानी गर्नुपर्छ । आफ्नो कुरा मात्रै सुनाउनेभन्दा पनि उनीहरूका समस्या सुन्ने र समाधानका उपाय निकाल्ने प्रयत्न गर्नुपर्छ ।

कुलत छाड्नका लागि

कुलतमा फसेका व्यक्तिका सवालमा यसबाट छुटकारा पाउन सबैभन्दा पहिले आफ्नो समस्या पहिचान गर्नुपर्ने हुन्छ । ड्रग्सका कारण व्यक्तिगत स्वास्थ्य तथा समाजमा असर परिरहेको छ भन्ने बुझेपछि प्रयोगकर्ताले परिवर्तनका लागि निर्णय लिनुपर्छ ।
तनाव कत्तिको छ, जीवन कसरी चल्दै छ, स्वास्थ्यमा ड्रग्सको असर कति परेको छ, यी र यस्ता प्रश्न आफैँसँग गर्नुहोस् ।
आफ्ना लागि ड्रग्सभन्दा महत्वपूर्ण कुराहरू के–के छन्, जस्तोः परिवार, करिअर, तपाईंको स्वास्थ्य, तपाईंले माया गरेर घरमा पालेका जनावर, तपाईंकी श्रीमती वा गर्लफ्रेन्ड । यस्ता कुराहरूको सूची तयार गर्नुहोस् ।
ड्रग्स प्रयोग गर्दा तपाईंको जीवनमा के भइरहेको छ र यसलाई त्याग गर्दा तपाईंलाई आर्थिक र सामाजिक रूपमा के कस्ता फाइदा हुन्छन् भनेर सोच्नुहोस् ।
तपाईंलाई ड्रग्स छाड्न के कुराले अवरोध गरिरहेको छ भनेर आफैँलाई प्रश्न गर्नुहोस् ।
यसअघि छाड्नका लागि के कस्ता प्रयत्न गर्नुभएको थियो र कहिले सफल हुनुभयो वा किन असफल हुनुभयो भनेर सम्झनुहोस् ।
स्पष्ट लक्ष्य बनाउनुहोस् । जस्तो कहिलेबाट छाड्न सुरु गर्नुहुन्छ वा कम गर्दै लैजानुहुन्छ ।
आफ्नो घर, कार्यालय वा आफू गइरहने स्थानबाट ड्रग्स वा त्यसको स्मरण गराउने वस्तुहरू हटाउनुहोस् । यसलाई बिर्संदै जानुहोस् र अन्य कुरामा रमाउनुहोस् ।
आफ्नो परिवार र साथीलाई कुलत छाड्न लागेको विषय जानकारी गराउनुहोस् र उनीहरूलाई सहयोग गरिदिन आग्रह गर्नुहोस् । विश्वस्त व्यक्तिहरूसँग आफ्ना अनुभव साट्नुहोस् । तपाईंको दुव्यर्सनीलाई उनीहरूले कसरी लिइरहेका छन् भनेर सोध्नुहोस् । - नयाँ पत्रिकाबाट 

प्रतिक्रिया दिनुहोस