काठमाडौँ । परराष्ट्र मन्त्री डा.आरजु राणा देउवाले परराष्ट्र मन्त्रालयको धेरैजसो काम विदेशमा रहेका नेपाली नागरिकहरूको उद्धार (रेस्क्यु) गर्नेजस्तो मात्र भएको बताएकी छन् ।
नेपाली काँग्रेस केन्द्रीय प्रशिक्षण प्रतिष्ठानले रुपन्देहीको भैरहवामा पार्टीका प्रतिनिधिसभा क्षेत्रीय सभापति तथा प्रशिक्षण शाखा प्रमुखका लागि आयोजना गरेको प्रशिक्षणमा उनले भनिन्, “अहिले विदेशमा नेपालीहरू यति धेरै समस्यामा परिरहेका छन् कि परराष्ट्र मन्त्रालयको काम त यसो हेर्दा उनीहरूको उद्धार गर्नेजस्तो मात्र भएको छ ।”
मन्त्री डा.राणाले सीमित स्रोत, साधन र जनशक्तिका कारण संसारमा रहेका नेपालीको उद्धारको काम निकै कठिन भएको जानकारी दिइन् । अहिले संसारका ४० देशमा मात्र नेपाली राजदूतावास रहेका तर नेपालीहरू भने एक सयभन्दा बढी देशमा पुगेका बताउँदै मन्त्री डा. देउवाले नेपालीहरू कहाँ र कसरी पुगेका छन् भन्नेबारेको सूचना मन्त्रालयलाई थाहा नहुने र कसैलाई समस्या परेर उद्धार गर्नुपर्ने अवस्थामा मात्र थाहा हुने गरेको बताइन् ।
बङ्गलादेशको उदाहरण दिँदै उनले भनिन्, “जस्तो कि बङ्गलादेशमा मेडिकल पढ्न गएका विद्यार्थीलाई समस्या परेपछि मात्र त्यहाँ कति विद्यार्थी छन् भन्ने कुरा थाहा भयो । तर मिडियामा भने उनीहरूलाई एक दुई दिनमै नेपाल ल्याइहाल्नुपर्यो भन्नेजस्तो गरेर समाचार आउँछ । त्यसबेला पनि ढाकाको दूतावासमा रहेको सीमित जनशक्तिले समन्वय गर्यो । यस्तै अवस्था अन्यत्र पनि छन्, तर हामी जसोतसो काम गरिरहेकै छौँ ।”
उनले मध्यपूर्वी देशहरूमा घरेलु कामदारका रूपमा जान महिलालाई नेपालले प्रतिबन्ध लगाएको भए पनि अवैधानिक बाटोबाटै हजारौँ महिला ती देशमा पुगिरहेका जानकारी गराउँदै पछि यदि उनीहरू समस्यामा परे भने उद्धारका लागि निकै अप्ठेरो पर्न सक्ने पनि बताइन् ।
मन्त्री डा.देउवाले त्यसैले परराष्ट्र मन्त्रालयले संसारका नेपाली डायस्पोरालाई कन्सुलर सेवा उपलब्ध गराउन तथा परम्परागत कूटनीतिभन्दा माथि उठेर नेपालको परराष्ट्र सम्बन्धलाई थप विस्तारित गर्न ओएनएम गरेर थप दरबन्दी सिर्जना गरेको र यसबाट आगामी दिनमा केही सहज हुने उनले स्पष्ट गरिन् ।
नेपाली मिसन नरहेका तर नेपालीहरूको सङ्ख्या धेरै रहेका स्थानजस्तै अमेरिकाका टेक्सास र सान्फ्रान्सिस्को तथा युएईको दुबईमा महावाणिज्यदूतावास नै स्थापना गरिएको उनले जानकारी गराइन् । मन्त्री डा.राणाले अहिले अमेरिकाले वैदेशिक सहयोग रोकेजस्तै गरी अन्यत्रबाट पनि त्यस्तो समाचार नआउला भन्न नसकिने बताउँदै अब देशको विकास आफैँ गर्ने र युवाहरूलाई स्वदेशमै रोजगारीमा लगाउने विषयमा काँग्रेसले गाउँगाउँमा अभियान सञ्चालन गर्नुपर्ने सुझाव दिइन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २० फागुन २०८१, १८ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इटालीबाट परराष्ट्र मन्त्रीको आह्वान-‘जलवायुजन्य जोखिम घटाउन बलियो सहकार्य आवश्यक छ’
परराष्ट्र मन्त्री राणा इटाली प्रस्थान
परराष्ट्र मन्त्री राणा आज रोम जाँदै
गैरकानूनी रूपमा विदेशमा रहेकाहरूलाई कानूनी प्रक्रिया अपनाउन परराष्ट्र मन्त्रीको आग्रह
परराष्ट्र मन्त्री डा. राणा इटाली र जर्मनी भ्रमणमा जाँदै
इजरायलबाट फर्कन चाहने ८ सय ८५ नेपालीले टिपाए नाम