काठमाडौँ । उपप्रधानमन्त्री एवं सहरी विकास मन्त्री प्रकाशमान सिंहले अहिले नागरिकले उपभोग गरिरहेको अधिकार त्यसै प्राप्त नभएको भन्दै विगतमा गरेको सङ्घर्ष र त्याग बिर्सन नहुने बताएका छन् ।
नेपाली कांग्रेस बाँकेले पार्टी कार्यालयमा मंगलबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिले कांग्रेसको मूल ध्येय नै प्राप्त अधिकारको रक्षा गर्नु रहेको बताए। कांग्रेस जिम्मेवार पार्टी भएको भन्दै यसका नेता कार्यकर्ता जिम्मेवार बन्नुपर्नेमा पनि सिंहको जोड थियो ।
‘कांग्रेस भनेर चिनिएकाहरूले जनताको बिचमा असन्तुष्टि पोखेपछि जनतामा कहाँबाट भरोसा विकसित हुन्छ ?,’ उपप्रधानमन्त्री सिंहले भने,‘ हाम्रा संस्थापक नेताहरूको प्रयास, विभिन्न समयमा केन्द्रीय स्तरका नेता र कार्यकर्ताको त्याग तपस्याकै कारण जनताले अधिकार प्राप्त गरेका छन् । त्यसका लागि ठुलो सङ्घर्ष र त्याग भएको छ । लामो समयको सङ्घर्ष र हजारौँको त्यागबाट अधिकार जनताकोमा आइपुगेको कुरा बिर्सनु भएन ।’
उनले प्राप्त अधिकारका विषयमा गैरजिम्मेवार अभिव्यक्ति दियौँ भने प्राप्त अधिकार गुम्न सक्ने भन्दै त्यस्तो अवस्था आए देश नयाँ अस्थिरतामा जान्छ भन्ने कुरा ख्याल गर्न पनि आग्रह गरे ।
उनले पछिल्लो निर्वाचनपछि सरकार अस्थिर हुँदा नागरिकको विकास र समृद्धिको चाहना संकटमा परेपछि नागरिकले स्थिर सरकार बनोस् भन्ने चाहना राखेकाले अहिलेको सरकार बनेको सिंहले प्रस्ट पारे । ‘प्राप्त अधिकारलाई सुरक्षित गर्दै राजनीतिक स्थिरताको जगमा हरेक नागरिकको जीवन र जीविकोपार्जन सहज बनाउन अब आर्थिक सम्पन्नताको बाटोमा देशलाई डोराउनुपर्छ,’ नेपाली कांग्रेसका पूर्वमहामन्त्रीसमेत रहेका सिंहले भने ।
उनले कांग्रेसभित्र अहिले पार्टीलाई केन्द्रमा राखेर काम गर्नुपर्नेमा गुट उपगुटको स्वार्थलाई केन्द्रमा राख्ने प्रवृत्तिका कारण कांग्रेस कमजोर देखिएको बताए । कांग्रेसलाई बलियो बनाउन पार्टीको नीति, सिद्धान्तका आधारमा अघि बढ्नुपर्ने भन्दै उपप्रधानमन्त्री सिंहले पार्टीभित्र अस्वस्थ प्रतिस्पर्धा हुन नहुने भन्दै राजनीतिक संस्कार बिर्सन नहुने धारणा राखे । उनले इतिहास राम्रो भएर मात्र नहुने भन्दै पार्टीलाई बलियो बनाउन सङ्गठन चुस्त दुरुस्त राख्न सुझाव दिए । अहिले समय छँदा नै पार्टीभित्रका विवाद कांग्रेसकै नेताहरू बसेर मिलाउनुपर्ने भन्दै सिंहले पार्टीभित्र सबैलाई समेटेर अघि बढ्ने संस्कार विकसित गर्नुपर्ने धारणा राखे ।
उपप्रधानमन्त्री सिंहले अहिले गठबन्धनको सरकार रहेको भन्दै गठबन्धनको संस्कार अनुसार नै सरकार अघि बढिरहेको पनि बताए । सरकार गठन हुँदाको सहमति अनुसार पार्टी सभापति शेरबहादुर देउवाकै नेतृत्वमा सरकार बन्ने र त्यो सरकारले निर्वाचन गराउने सिंहको भनाई थियो । कार्यक्रममा कांग्रेस सहमहामन्त्री किशोरसिंह राठौर, केन्द्रीय सदस्य डिला संग्रौलालगायतका नेता कार्यकर्ता उपस्थित थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १३ फागुन २०८१, १२ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भ्रम छर्ने कुरा फेसनजस्तो भयो : उपप्रधानमन्त्री सिंह
प्रस्ट कार्ययोजना र प्रतिवद्धतापछि मात्रै संसद् भवनको म्याद थप हुन्छ : उपप्रधानमन्त्री सिंह
वर्तमान शासन व्यवस्था टिकाउन सरकार लागिपरेको छः उपप्रधानमन्त्री सिंह
राष्ट्रको आवश्यकता र जनताको माग अनुसारका विकासमा जोड दिनुपर्छ : उपप्रधानमन्त्री सिंह
त्रिवि क्रिकेट मैदानको काम समयमै सम्पन्न गर्न उपप्रधानमन्त्री सिंहको आग्रह
निर्वाचित हुँदैमा जनप्रतिनिधि नियमभन्दा माथि हुँदैन : उपप्रधानमन्त्री सिंह