सुर्खेत । मुगुको कार्मारोङ गाउँपालिका र छायाँनाथ रारा नगरपालिकामा निर्माण हुने ३०६ मेगावाट क्षमताको माथिल्लो मुगु कर्णाली जलविद्युत् आयोजनाको प्रारम्भिक काम सुरु भएको छ।
अर्धजलाशय (Semi-Reservoir) प्रकृतिको उक्त आयोजना एलिभेट इनर्जीले निर्माण गर्न लागेको हो। कम्पनीले २०७७ सालमै आयोजनाको सर्वेक्षण अनुमतिपत्र प्राप्त गरिसकेको थियो भने हाल उत्पादन अनुमतिपत्र प्राप्त गर्ने प्रक्रिया अघि बढाइएको छ।
आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) र सम्भाव्यता अध्ययन प्रतिवेदन तयारीका लागि सार्वजनिक सूचना प्रकाशित गरिएको छ। कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रविण अर्यालका अनुसार सम्भाव्यता अध्ययनको अन्तिम प्रतिवेदन प्राप्त भएपछि आयोजनाको वास्तविक उत्पादन क्षमता अन्तिम रूपमा निर्धारण हुनेछ।
कम्पनीका अनुसार आयोजनास्थलमा प्रारम्भिक काम सम्पन्न भइसकेको छ भने डिजाइन तथा हेडवर्क्ससम्बन्धी अध्ययन हाइड्रोल्याबमा भइरहेको छ। विद्युत्गृहमा चारवटा भर्टिकल एक्सिस पेल्टन टर्बाइन र जेनेरेटर जडान गरिनेछ।
आयोजनाबाट वार्षिक औसत एक हजार ६२९ गिगावाट घण्टा विद्युत् उत्पादन हुने अनुमान गरिएको छ। उत्पादित विद्युत् ५५ किलोमिटर लामो ४०० केभी डबल सर्किट प्रसारण लाइनमार्फत फुकोट हब सबस्टेशनमा जोडिनेछ।
कम्पनीले सन् २०३३ को अगस्टसम्म आयोजनाबाट व्यावसायिक रूपमा विद्युत् उत्पादन सुरु गर्ने लक्ष्य लिएको छ।
विद्युत् विकास विभागले वातावरणीय प्रभाव मूल्याङ्कन र सम्भाव्यता अध्ययन प्रतिवेदनका आधारमा सार्वजनिक सूचना जारी गरेको जनाएको छ। आयोजनाको अनुमानित कुल लागत ५५ अर्ब ३३ करोड रुपैयाँ रहनेछ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २६ असार २०८३, ०८ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लमजुङमा विद्युत् उत्पादन बढ्यो
जलविद्युत् आयोजनाका प्रवर्द्धकको नाममा प्राधिकरणले जारी गर्यो यस्तो सूचना
कालीगण्डकी जलविद्युत् आयोजना ६४० मेगावाटको मात्रै हुने
राहुघाट जलविद्युत् आयोजनाको सुरुङका लागि संरचना तयार
एउटै वडामा पाँच जलविद्युत् आयोजना
एउटै खोलामा ६ जलविद्युत् आयोजना निर्माण