काठमाडौँ । गृह मन्त्रालय र काठमाडौँ विश्वविद्यालयको मानसिक स्वास्थ्य विभागबिच मानसिक स्वास्थ्य अध्यायन–अनुसन्धानका लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ ।सोमबार बिहान गृह मन्त्रालयका विपद् महाशाखा प्रमुख डा. टोकराज पाण्डे र विश्वविद्यालयका मानसिक स्वास्थ्य विभाग प्रमुख डा. दिपक कुँवरले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन्।
गृहमन्त्री रमेश लेखकले अब गृह मन्त्रालय र काठमाडौँ विश्वविद्यालयको प्रयासमा आत्महत्याको घटनालाई नियन्त्रण र न्यूनीकरणमा काम हुने बताए। गृह मन्त्रालय र काठमाडौँ विश्वविद्यालयको प्रयासमा एक वर्षमा आत्महत्याको घटना ठूलो संख्यामा घट्ने गृहमन्त्री लेखकले विश्वास व्यक्त गरे ।
‘आत्महत्याको विषय गम्भीर भएको छ । प्रत्येक दिनको रेकर्ड हेर्दा म आत्तिन्छु, डराउँछु । पछिल्लो २४ घण्टामा मात्र ३७ जनाले आत्महत्या प्रयास गरेका छन् । जसमध्ये ११ जनाको मृत्यु भएको छ । बचेका २६ जनाले जुन सुकै बेला पनि आत्महत्या गर्ने खतरा हुन्छ,’ लेखकले भने । आत्महत्याको कारण, कारक र निदानको उपायको खोजीका लागि काठमाडौँ विश्वविद्यालयले अध्यायन र अनुसन्धान गर्ने उनको भनाइ छ ।
‘नेपाल प्रहरीले पनि आत्महत्या न्यूनीकरण कार्य योजना २०८१ जारी गरेको छ । आत्महत्या न्यूनीकरण गर्ने कुरामा हामीले काम राखेकै छौँ । तर यत्तिले पुगेन । थप अगाडि बढ्नुप¥यो । त्यसका लागि काठमाडौं विश्वविद्यालयलेसँग मिलेर काम गर्दा उपलब्धी प्राप्त गर्छौँ,’ मन्त्री लेखकले भने ।
आत्महत्या गर्ने सम्भावना भएका मानिस र आत्महत्या प्रयास गरेका मान्छेको पहिचान गरेर प्रहरीले मानसिक स्वास्थ्य विभागलाई जानकारी गराउने समझदारी पत्रमा उल्लेख छ ।
गृहमन्त्री लेखकका अनुसार मानसिक स्वास्थ्य विभागले टेलिमेडिसिनमार्फत त्यस्ता मान्छेलाई मनोपरामर्श दिने छ । आत्महत्या नियन्त्रण र न्यूनीकरण सम्बन्धी मानसिक स्वास्थ्य विभागले नेपाल प्रहरीलाई पनि आधारभूत तालिम दिने गृहमन्त्री लेखकले बताए ।
केही समयपछि आत्महत्या सम्बन्धी एउटा एप विकास गरेर सबै कुरालाई एपमा जोड्ने योजना रहेको पनि उनको भनाइ छ । आत्महत्या न्यूनीकरणबारे तीन महिनामा आवधिक मल्यांकन गर्न गृहमन्त्री लेखकले निर्देशन दिए ।
यस्तै मानसिक स्वास्थ्य विभागका प्रमुख कुँवरले गृह मन्त्रालयसँग भएको सम्झौताले आत्महत्या न्यूनीकरणका लागि काठमाडौं बाहिर पनि काम गर्ने अवस्था बनेको बताए । ‘टेलिमेडिसियनमार्फत दुरदराजसम्म पनि पुग्न सकिन्छ । गृह मन्त्रालयसँग मिलेर काम गर्दा राम्रो परिणाम दिन सकिन्छ,’ उनले भने ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०८ पुस २०८१, १३ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
फरार अभियुक्त पक्राउ गर्न गृह मन्त्रालयले बढायो सक्रियता
कर्मचारीलाई कडा निर्देशनः २४ घण्टाभित्र हाजिर नभए कारबाही (सूची)
स्पेन प्रकरण छानबिनका लागि गृह मन्त्रालयमा उच्चस्तरीय बैठक
गृह मन्त्रालयले गर्यो २० प्रमुख जिल्ला अधिकारीको सरुवा (सूची)
गृहले गर्यो एक सिडिओसहित दुई उपसचिवको सरुवा
सात जिल्लाका सिडिओसहित १३ अधिकारीहरूको सरुवा (सूचीसहित)