काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने जोडिएको सूर्यदर्शन सहकारीको रकम अपचलनको मुद्दामा जिल्ला सरकारी वकिल कार्यालय कास्कीले आज (शुक्रबार) अदालतमा अभियोजन गर्ने तयारी गरेको छ ।
सरकारी वकिल कार्यालय कास्कीकी जिल्ला न्यायाधिवक्ता कमला काफ्लेले आज अदालतमा अभियोग पत्र दर्ता गर्ने तयारी रहेको बताइन् । उनले भनिन्, ‘हामीले सुक्ष्मरूपमा अनुसन्धानको मिसिल अध्ययन गरिरहेका छौं, शुक्रबार अदालतमा अभियोग दर्ता गर्छौं ।’
सरकारी वकिल कार्यालयले मिसिल अध्ययन अध्ययन र अभियोगपत्र तयार पार्न ४ दिनको समय बाँकी राखिएको थियो । उक्त समय आज सकिँदैछ ।
कार्यालयले रविविरुद्ध तीनवटा अभियोग दर्ता गर्दैछ । सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा दर्ता गर्नेगरी अभियोग पत्र तयार भइरहेको कार्यालयले जनाएको छ ।
झण्डै ६ सय पृष्ठ लामो प्रहरी मिसिलमा गोरखा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक रवि, उनका पार्टनर एवं गोरखा मिडियाका सञ्चालक पूर्वडीआईजी छविलाल जोशी बञ्जाडे, लीला पछाई, रामबहादुर खनाल र कृष्णबहादुर गुरुङसहित ५१ जनालाई प्रतिवादी बनाइएको छ ।
सहकारीको ऋण तिर्न रविले काटेका चेक प्रहरीले बरामद गरेको छ । यसलाई पनि प्रहरीले सहकारी ठगीको प्रमाणको रूपमा लिएको छ ।
गोरखा मिडिया र सुप्रिम सहकारीमाथि अनुसन्धानका क्रममा लामिछानेले काटेको चेक फेला परेपछि उनलाई चेकको प्रतिलिपि देखाएरै सोधपुछ गरिएको थियो ।
प्रहरीले ५१ जना प्रतिवादीविरुद्ध १ अर्ब ५१ करोड रुपैयाँ माग दाबी लिएर मुद्दा दर्ता गर्न सरकारी वकिल कार्यालयमा राय पेश गरेको थियो ।
सूर्यदर्शनबाट ब्याज पुँजीकृत गरिएको ३९ करोड २२ लाख बराबरको कर्जा विवरणमा कर्जा खाता नम्बर ००१–००१–११६–०००४४५६ मा मिति २०७९ असार मसान्तमा १४ लाख ७५ हजार एक रुपैयाँ र २०८० असार १३ मा १६ लाख १३ हजार ७ सय १३ रुपैयाँ रवि लामिछानेको नाममा देखाइएको छ ।
रविले यसलाई इन्कार गरे पनि तेस्रो व्यक्ति खडा गरेर सहकारी ठगीबाट बच्न रविले प्रपञ्च रचेको दाबीसहित प्रहरीले केही तथ्य मिसिलमा राखेको छ । सूर्यदर्शनबाट गोरखा मिडियामा साढे ५ करोड गएको देखिन्छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०५ पुस २०८१, ०७ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दिल्लीमा रविको ‘डिप्लोमेटिक डेब्यु’ : 'उच्च नेतृत्वसँग भएको भेटघाटले नेपालको समकालीन राजनीतिमा नयाँ बहस'
भारतमा के गरिरहेका छन् रवि लामिछाने ? भोलि मोदीसँग भेट्ने कार्यक्रम तय
भारत भ्रमणमा रहेका रवि लामिछानेलाई दिल्ली विमानस्थलमा भाजपा नेतृत्वद्वारा स्वागत
उच्चस्तरीय भेटवार्ताका लागि रवि लामिछाने भारत प्रस्थान
रविको भारत भ्रमणपूर्व प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्ति : संयोग कि नियोजित ?
रास्वपा सभापति रवि लामिछाने भारत भ्रमणमा जाँदै