अन्तर्राष्ट्रिय समुदायलाई नेपालमा लगानी गर्न आह्वान

विहीबार, ०८ कार्तिक २०७५, १६ : ३१
अन्तर्राष्ट्रिय समुदायलाई नेपालमा लगानी गर्न आह्वान

काठमाडौँ  ।  उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले अन्तर्राष्ट्रिय समुदायलाई नेपालमा लगानी गर्न आह्वान गर्नुभएको छ । 

अल्पविकसित मुलुकहरूको मन्त्रिस्तरीय बैठकलाई बुधबार जेनेभामा सम्बोधन गर्दै उहाँले वैदेशिक लगानीको उपयुक्त वातावरण बनाउन तथा बाह्य लगानी आकर्षित गर्न नेपाल सरकारले अवलम्बन गरेका लगानीमैत्री नीतिबारे जानकारी दिनुभयो । जेनेभास्थित संयुक्त राष्ट्र सङ्घीय कार्यालय तथा अन्य अन्तर्राष्ट्रिय सङ्गठनका लागि नेपाली नियोगका अनुसार मन्त्री यादवले ‘समृद्ध नेपाल सुखी नेपाली’ लक्ष्य हासिल गर्न सरकारले आर्थिक विकासलाई उच्च प्राथमिकतामा राखेको बताउनुभयो । 

जलविद्युत्, पूर्वाधार, पर्यटन, कृषि, खनिज तथा खनिजजन्य उद्योगबाट प्रचुरमात्रामा प्रतिफल प्राप्त हुने भएकाले ढुक्क भएर नेपालमा लगानी गर्न अनुरोध गर्नुभयो ।    बुधबार नै मन्त्री यादवले व्यापार तथा विकासका लागि संयुक्त राष्ट्रिसङ्घीय सम्मेलन (अङ्कट्याड) का महासचिव मुखिसा किटुवीलाई भेटेर नेपालको उद्यमशीलता विकास, साना तथा माझौला उद्योगको प्रवद्र्धनमा प्राविधिक सहायता बढाउन आग्रह गर्नुभयो ।  (रासस)

प्रतिक्रिया दिनुहोस